काठमाण्डौ । ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैक लिमिटेडको अगुवाईमा बैशाख ३१ गते लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा एमए पावर प्रालिले यो जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।
लगानी सम्झौता एमए.पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैक, सिद्धार्थ बैक,कृषि विकास बैक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक , लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्षले बताए । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० कार्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति(आरसीओडी) २०८६ साल बैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन(ईआए) स्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभीमा जोडिने छ ।