काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको वित्तीय अवस्थामा गत आवको तुलनामा सामान्य सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आधा भन्दा बढी हाइड्रो कम्पनीहरु नाफामा उक्लिएका छन् ।
गत आवको तेस्रो त्रैमाससम्म आधा जसो हाइड्रो कम्पनी घाटामा देखिएकोमा चालु आवको तेस्रो त्रैमाससम्म ५८ कम्पनी नाफामा उक्लिएका छन् । सो अवधिसम्म हाइड्रो कम्पनीहरुले समग्रमा १ अर्ब ४४ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आवको सोही अवधिसम्म हाइड्रो कम्पनीहरुले समग्रमा १ अर्ब ५ करोड रुपैयाँ घाटा ब्यहोरेका थिए । नेप्सेमा कुल ९१ वटा हाइड्रो कम्पनी सूचीकृत छन् । हालसम्म ८९ कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् भने शिव श्री हाइड्रो र अप्पर लोहरे खोला हाइड्रोको रिर्पोट प्रकाशित हुन बाँकी छ ।
गत आवको तेस्रो त्रैमाससम्म ४३ कम्पनी घाटामा थिए भने चालु आवको तेस्रो त्रैमाससम्म ३१ कम्पनी मात्रै घाटामा देखिएका छन् । गत आवको तुलनामा हाइड्रो कम्पनीहरुको मुनाफामा केही प्रतिशत सुधार देखिएको छ ।
तर सो अवधिसम्म नाफामा उक्लिएका ५८ कम्पनीमा पनि २७ कम्पनीको मात्रै गत आवको तुलनामा नाफा बढेको छ । हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानीमा सुधार देखिएसँगै नाफामा समेत सुधार देखिएको हो ।
तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले विद्युत बिक्री गरेर २८ अर्ब ८१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन यो गत आवको तुलनामा १२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म हाइड्रो कम्पनीहरुले विद्युत बेचेर २५ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
अधिकांश हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बृद्धि हुँदा गत आवमा एक अर्ब भन्दा बढी घाटा ब्यहोरेका कम्पनीहरु नाफामा उक्लिएका हुन् । साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दा हाइड्रोपावर कम्पनीहरुको दायित्व घट्न पुगेर नाफामा सुधार देखिएको हो । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा साहज उर्जा रहेको छ । कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ७४.४५ प्रतिशत बढी हो ।
त्यस्तै, चिलिमे हाइड्रोले पनि सो अवधिसम्म ५० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ भने तेस्रो बढी नाफा कमाउनेमा माउन्टेन इनर्जीले ४६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यसका साथै ग्रीन भेन्चर्सले ३७ करोड ३५ लाख, अपि पावरले ३५ करोड ३४ लाख, सानिमा माई हाइड्रोले २७ करोड ६९ लाख, सानिमा मिडिल तमोरले २१ करोड १४ लाख र बुटवल पावरले २१ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा भने अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीले सो अवधिसम्म २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटा ब्यहोेरेको छ ।
त्यस्तै, माउन्टेन हाइड्रोपावरले ३९ करोड २७ लाख, बलेफी हाइड्रोपावरले ३२ करोड ६६ लाख, सान्जेन जलविद्युतले २४ करोड २८ लाख, मेन्छियाम हाइड्रोले १८ करोड ३२ लाख र रसुवागढी हाइड्रोले १४ करोड ६० लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
घाटा ब्यहोरेका ३१ वटा कम्पनीले कुल ४ अर्ब १८ करोड ९३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । साथै नाफामा उक्लिएका ५८ वटा कम्पनीको मात्रै खुद नाफा भने सो अवधिसम्म ५ अर्ब ६३ करोड ९ लाख रुपैयाँ रहेको छ । हाइड्रो कम्पनीहरुको समग्र नाफामा कुल घाटा रकम कटाएर सो अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ नाफा देखिएको हो ।
विद्युत बिक्रीमार्फत रु.२८.८१ अर्ब आम्दानी
हाइड्रोपावर कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत २८ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेका छन् । यो आम्दानी गत आवको तुलनामा ११.९९ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिसम्म हाइड्रो कम्पनीहरुले बिद्युत बिक्रीमार्फत २५ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेका थिए । सो अवधिसम्म आइपुग्दा अधिकांश हाइड्रो कम्पनीहरुको यस्तो आम्दानी बृद्धि देखिएको छ ।
सबैभन्दा बढी यस्तो आम्दानी गर्नेमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीले सो अवधिसम्म विद्युत बेचेरै ४ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, सानिमा मिडिल तमोरले १ अर्ब ३८ करोड, ग्रीन भेन्चर्सले १ अर्ब २८ करोड र अपि पावर कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ ।
इपीएस कुनको कति ?
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी (इपीएस)भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।
तेस्रो त्रैमाससम्म सबैभन्दा बढी इपीएस साहज उर्जाको छ । कम्पनीको इपीएस २९.४२ रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रो बढी इपीएस माउन्टेन इनर्जीको १७.८७ रुपैयाँ रहेको छ ।
यसका साथै नेपाल हाइड्रो डेभलोपर्सको १७.११ रुपैयाँ, रु रु जलविद्यूतको १६.५० रुपैयाँ, मिड सोलु हाइड्रोको १५.५२ रुपैयाँ, माउन्टेन हाइड्रोपावरको १४.६९ रुपैयाँ, माण्डू हाइड्रोपावरको १४.६९ रुपैयाँ, युनाइटेड इदि मार्दीको १४.१३ रुपैयाँ र सिक्लेस हाइड्रोको १३.५६ रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म ५८ हाइड्रोपावरको इपीएस धनात्मक रहेको छ भने ३१ कम्पनीको इपीएस ऋणात्मक देखिएको छ । सबैभन्दा धेरै ऋणात्मक मेन्छियाम हाइड्रोको रहेको छ । कम्पनीको इपीएस ४५.०३ रुपैयाँ ऋणात्मक रहेको छ ।
