काठमाण्डौ । लक्ष्मी पूजाको दिन सुनको स्थानीय मूल्यमा सामान्य बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अनुसार तिहारको लक्ष्मीपूजाको दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ । आजको यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोलामा रु. ३०० ले बढी हो । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा समेत सामान्य बढोत्तरी भएको छ । अघिल्लो दिन(आइतबार) प्रतितोला ३२७५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर ३२८० रुपैयाँ पुगेको हो ।
नेपाली बजारमा सुनको मूल्य सर्वाधिक तोलाको २ लाख ५८ हजारको उचाईमा असोज ३१ गते पुगेको थियो । त्यसपछि करेक्सन भएर घटेको सुनको मूल्य सामान्य रुपमा पुनः बढ्न थालेको देखिन्छ ।
अन्तराष्टिय बजारमा भने सुनको मूल्य एकपटक उछालको गतिमा पुगेर अहिले प्रति औंस ४२६१ डलर आसपास घुमिरहेको छ ।