काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूँजी बजार विकास तथा लगानीकर्ताको हित सुरक्षाका लागि वित्तीय साक्षरतामा जोड दिन थालेको छ । नेप्सेले वित्तीय साक्षरता कार्यक्रममा दश जोड दुईदेखि स्नातकोत्तर तहका विद्यार्थीलाई सहभागी गराउने लक्ष्य राखेको छ ।
वित्त बजारका बारेमा विद्यार्थीहरुले विश्वविद्यालय तथा कलेजमा प्राप्त गर्ने सैद्धान्तिक ज्ञानमा परिपुरक हुने गरी व्यावहारिक ज्ञान प्रदान गर्ने यो कार्यक्रमको उद्देश्य रहेको नेप्सेले जनाएको छ ।
नेप्सेले आफ्नै कार्यालय परिसरमा विद्यार्थीहरुलाई बोलाएर तोकिएको दिनमा एक घण्टा प्रशिक्षण दिने तथा अवलोकन गराउने गरिरहेको छ । नेप्सेले पहिले आउने कलेजलाई पहिलो प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन भईरहेको जनाएको छ ।
लगानीकर्ता सचेतनाका लागि विविध कार्यक्रम सञ्चालन गर्ने क्रममा विगत एक दशकदेखि वार्षिक कार्यक्रममा समावेश गरी विभिन्न विश्वविद्यालय, कलेज तथा स्कुलसँगको समन्वयमा धितोपत्र बजार सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आईरहेको नेप्सेले जनाएको छ ।