काठमाण्डौ । नेपालमा यस वर्षको मनसुल प्रणाली भित्रिएको छ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १५ गते बिहिबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको छ ।
जसको फलस्वरुप कोशी प्रदेशको अधिकांश मौसम केन्द्रहरुमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्नेछ । हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायुको प्रभाव यथावत रहेको देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जनाएको छ । ।