काठमाण्डौं । नेपाल स्टक एक्सेञ्ज(नेप्से) पुनः अध्यक्षबिहिन भएको छ । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । अर्थ मन्त्रालयमा सचिव र सहसचिव ६÷६ महिना फेरिदा त्यसको असर नेपाल स्टक एक्सचेञ्जमा पनि पर्ने गरेको छ ।
यस अघिका अध्यक्ष शोभाकर पौडेल गण्डिकी प्रदेशमा मुख्य सचिव भएर सरुवा भएसँगै नेप्से अध्यक्ष बिहिन भएको हो । नेप्सेमा अध्यक्ष नभए पछि नियमित काम बाहेक खासै कुनै काम हुन नसक्ने नेप्सेस्थित कर्मचारीहरु बताउछन् । नेप्सेमा अध्यक्ष नहुँदा एसएमई प्लेटफर्म , नेप्सेको पुनर्संरचना तथा अन्य बाँकी सबै काम ठप्प प्रायः नै हुन्छन् । जेठ १५ गतेसम्म अर्थ मन्त्रालय बजेटको काममा ब्यस्त रहेता पनि त्यसपछि पनि नेप्से अध्यक्ष नियुक्त गर्ने बिषयमा खासै चासो राखेको देखिदैन ।
नेप्सेमा अध्यक्ष पठाउने जिम्मा अर्थ मन्त्रालयस्थित वित्तिय व्यबस्थापन महाशाखाको हो । तर वित्तिय व्यबस्थापन शाखाका प्रमुख सेवन्त पोखरेल कार्यकक्षमा समेत भेटिदैनन भने सम्पर्कमा आउन पनि चाहदैनन् । अर्थमन्त्रीका प्रेस सल्लाहाकार भुवन केसीले यसै विषयमा बोल्दै नेप्सेको अध्यक्ष गभर्नर जस्तो मुख्य विषय नभएको कारण प्राथमिकतामा नपरेको हुन सक्ने जवाफ दिए ।
यसबाट ६६ लाख लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले हेर्ने दृष्टिकोण थाहा पाउन सकिन्छ । यस अघि पनि नेप्सेको सीईओ लामो समयपछि नियुक्त गरिएको थियो । बजारमा लगानीकर्ताहरुले नयाँ–नयाँ प्रबिधि र प्रडक्ट अपेक्षा गरेका हुन्छन् । तर नेपाल सरकार र तालुकदार मन्त्रालय भने यस्ता विषयमा संधै बेखबरमा झै रहेका हुन्छन् ।