काठमाण्डौ । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।
कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । नगरका अधिकांश भाग पहाडी क्षेत्र भएको भीरकोटमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर उत्पादनसँगै बजारीकरण गर्ने उद्देश्यले विशेष कार्यक्रम सुरु गरिएको छ ।
परियोजनाले कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्नेछ । कार्यक्रमले कृषि उत्पादन र बजारीकरण महत्वपूर्ण सहयोग पुर्याउने नगरपालिकाले विश्वास लिएको छ । महिला तथा पछाडि परेको समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने प्रयास गरिने भएको छ ।
नगरका नौं वडाका न्यून आय भएका घरपरिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिए । उनका अनुसार विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुनेछ ।
परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।
भीरकोट नगरपालिकाको समन्वयमा हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन हुनेछ । २० महिने अवधिका लागि संचालन हुने परियोजनाका लागि तीन करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।