काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरतन्तरता दिएका छौं । आज राजधानीको मौसमा सामान्य बदली भएको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति पनि सामान्य नै देखिन्थ्यो । आज हामीले सबै भन्दा पहिले बिहान ११ बज्दा नबज्दै मल्ल एण्ड मल्ल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ११) बाट हाम्रो स्तम्भ सुरु गर्यौ ।
आज कारोबारको सुरुवातमा बजार सामन्य अंकले बढेको थियो भने पहिलो प्रहरमा कारोबार पनि बढेको थियो । लगानीकर्ता आफ–आफ्नै सुरमा बजारको अवस्था हेर्नमा व्यस्त थिए । यतिकैमा एक लगानीकर्ताले डिस्प्ले बोर्ड हेर्दै भने, ‘लौ आज पनि हाइड्रो क्षेत्र नै बढ्ने भयो । मलाई त बिहान साथीहरुबाट बुटवल पावर , सामलिङ्ग पावर , ङादी जलविद्युत र बरुण कम्पनी भन्दै म्यासेज आएको थियो ।’
‘आज पनि तिनै कम्पनी चल्ने जस्तो छन् । मैले पनि यिनै कम्पनीको नाम सुनेको हो,’ अर्को एक लगानीकर्ताले थप्दै भने ‘ मलाइ साथीहरुले सहास उर्जा कम्पनी पनि हुन्छ है भन्दै थिए । अहिले त बजार नै ग्रुपमा चल्यो भने आम्दानी भयो, हैन भने सेयर बजारमा कमाउन धेरै मुश्किल छ ।’ यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ता आफूले युनिभर्सल पावर कम्पनीको सेयर किनेको, त्यस पछि बढ्नै नसकेको भन्दै गुनासो गर्दै थिइन् ।
ब्रोकर हाउसमा यस्तै जलविद्युत कम्पनीहरुको चर्चा चल्दै थियो । भित्ताको घडिमा १२ बज्दै थियो । यहाँबाट हामी कमलादीस्थित कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ता मध्यान्हको झरीलाई पनि बेवास्था गर्दै छाता ओडेर ब्रोकर हाउसमा आँउँदै थिए । यतिकैमा एक लगानीकर्ताले भने ‘सुन व्यवसायी आँन्दोलनमा छन् । सुन व्यापारीहरु पनि सेयर बजारमा आउदै छन् रे । गत साता यहि भएर साढे १२ अर्ब बढीको कारोबार भएको हो ।
यहाँबाट हामी नजिकै रहेको मियो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे । बजार सामान्य अंकले तल–माथि गर्दै थियो । केहीले खेलाडीको सेयर मात्रै चलेको अरु हेरेको हेर्यै भएको गुनासो गर्दै थिए । यस ब्रोकरमा हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको विषयमा जिज्ञासा राख्यौं । ब्रोकरका सञ्चालकले अझै पनि बजारमा कन्फिडेन्स आउन नसकेको कारण बजार बढ्न नसकेको तर्क गरे ।
तर बजारमा केही कम्पनी भने बढेको उनले बताए । उनले थप्दै भने ‘यद्यपी बजार परिपक्क भने बन्दै गएको छ । बजारमा नयाँ युवा लगानीकर्ता आएका छन् । यहि कारण बजार केही फरक र पृथक हुँदै गएको छ ।’
यहाँबाट हामी दक्षिणकाली सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३३) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु कारोबारमा मस्त देखिन्थे । यहाँ भेटिएका लगानीकर्ताहरुले गत साता नेपाल राष्ट्र बैंकले रेवत बहादुर कार्कीको संयोजकत्वमा बनाएको बैकिङ सुधार समिति निकै राम्रो भएको तर्क गरे । यतिकैमा एक लगानीकर्ताले प्रश्न गरे, ‘मौद्रिक नीति कहिले आउने हो ?’ उनलाई जबाफ दिँदै एक लगानीकर्ताले भने, ‘आर्थिक वर्ष सकिएको १५ दिन भित्र आउनु पर्ने हो । मैले पाएको सूचना अनुसार त बजेट आइसकेको हुनाले मौद्रिक नीति यहि असार भित्र नै आउन सक्छ । राष्ट्र बैंकले सुझाव पनि मागिसकेको पनि छ । छलफल पनि चलेको छ । यसकारण मौद्रिक नीति बैंकिङ क्षेत्रलाई सहयोग पुग्ने गरि आउछ । पहिले जस्तो ढिलो हुँदैन ।’