काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता र ब्रोकर सञ्चालकसँग बजारको पछिल्लो अवस्थाका विषयमा बुझ्ने प्रयास गरेका छौं ।
आज मौद्रिक नीति पछिको पहिलो कारोबार भएका कारण पनि हुनसक्छ ब्रोकर हाउसहरुमा लगानीकर्ताको निकै चहलपहल देखिन्थ्यो । आज हामी सबैभन्दा पहिले बिहान ११ बज्दा नबज्दै ज्ञानेश्वरमा रहेको सुमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । यस ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्थ्यो ।
लगानीकर्ताहरु बिहान ११ नबज्दै ब्रोकर हाउसमा उपस्थित भईसकेका थिए । ११ बजे नियमित कारोबार खुलेसँगै लगानीकर्ता चनाखो भई ब्रोकर हाउसको भित्तामा रहेको डिस्प्लेमा नजर डुलाउन थाले । अघिसम्म शान्त रहेको वातावरणमा केही चहलपहल देखिन थाल्यो । लगकनीकर्ता एक आपसमा गफिन थाले । ‘लौ ! आज त साथीहरु कति छिटो आएको ?आज सबै साथीभाई चाँडै पो आउनु भयो । २ बजे तिर आउने पनि यति छिटो किन हो ? एक लगानीकर्ताले आफ्ना सहपाठीलाई इंगित गर्दै भने । उनलाई जवाफ दिँदै एक लगानीकर्ताले भने, ‘आज त सर्किट लाग्ने हल्ला छ, अनि आउन परेन त समयमा नै ?
यतिकैमा अर्को एक लगानीकर्ताको आवाज सुनियो ‘आज त लघुवित्त कम्पनी चम्कन्छन् जस्तो छ ।’ प्रि– ओपनमा ३५ अंकले बढेको बजार करिब ३ प्रतिशतले बढेर कारोबार हुँदै थियो । पछाडिको सिटबाट एक लगानीकर्ताले आज १०० अंक जतिले बजार बढे सेयर बिक्री गर्ने योजना सुनाए । ‘भोली फेरि किन्न पाई हालिन्छ,’ ति लगानीकर्ताले एक कम्पनी मार्केट डेप्थ हेर्दै भने ‘होइन साथीहरु बेच्ने मात्रै छन् त अहिले त सबै बाठा भएछन कि कसो ? आफ्ना कम्पनी त बढेकै छैनन् ।’
उनको कुरा सुनेपछि छेवैबाट आजाव सुनियो, ‘बेच्नेले जिते जस्तो छ ।’ आज कारोबारको पहिलो प्रहरमा ४ अर्ब माथी कारोबार भएको थियो भने बजार पनि राम्रै अंकले बढेको थियो ।
केही समयको बसाई पछि हामी नयाँ ब्रोकर, हिमालयन ब्रोकेज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ६३) मा पुग्यौं । यहाँ भने लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । आज मध्यान्ह पछि बजारमा केही बिक्री दबाब पर्दै थियो ।
यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘यी टीएहरुले पनि बजार बिगार्ने भए । आज बजारमा बिक्री दबाब आउनु पर्ने कारण नै छैन । मौद्रिक नीति निकै सकारात्मक आएको छ । अब त बजार बढ्ने नै हो ।’
यस ब्रोकरहरुमा भेटिएका केही लगानीकर्ताहरुले मौद्रिक नीति राम्रो आएकाले गभर्नरलाई धन्यबाद दिनुपर्ने बताउँदै थिए । यहाँबाट हामी कालिकास्थान स्थित नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो ।
यहाँ भेटिएका लगानीकर्ताले पनि लघुवित्त र बैंकको चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता एनआइसी एशिया बैंकको सेयरमा आफूलाई राम्रो फाइदा भएको भन्दै दंग पर्दै थिए । उनी सँगै बसेका एक लगानीकर्ताले ८ सयमा धेरै लगानीकर्ता फसेकाले यो कम्पनी धेरै बढ्न बाँकी रहेको बताए ।
केही लगानीकर्ता लघुवित्तको चर्चा गर्दै थिए । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले लघुवित्त भन्दैमा सबै लाभांश दिन सक्ने अबस्थामा नरहेको तर्क गर्दै थिए । यस ब्रोकरमा हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको अबस्था र मौद्रिक नीतिको बिषयमा जिज्ञासा राख्यौं ।
ति सञ्चालकले मौद्रिक नीति राम्रो आएको प्रतिक्रिया दिए । उनले थप्दै भने ‘मौद्रिक नीति बजारको लागि सहज आयो । चालु पूँजी कर्जा अवस्था हेरेर बिश्लेषण गर्छौ भन्ने छ । लघुवित्तको पनि अवस्था हेरेर सुधार गर्छौ भन्ने छ । मौद्रिक नीतिमा कर्जाको पुनर्संरचनाको विषय पनि समेटिएको छ । रेगुलेटरी रिर्जभमा गएको पैसा पूँजीमा गणना गर्न पाउने भन्ने छ । यी सबै बिषयले बैंकको पूँजीकोषलाई सहज हुने भयो । यो मौद्रिक नीति राम्रो आएको छ ।’
यहि कारणले आज बैंकिङ सूचक बढेको उनले बताए । अब पर्फमेन्स हेरेर बजारमा सेयरको मूल्य बढ्ने ति सञ्चालकले बताए । यसबेलासम्म भित्ताको घडिमा दिनको साढे २ बज्दै थियो । हामीले ग्राउण्ड जिरोलाई आजका लागि यही बिट मार्ने निधो गर्यौं ।