काठमाण्डौ । गत आर्थिक वर्षमा नक्कली डलर देखाएर ठग्नेहरु बढेका छन् । नेपाल प्रहरीका अनुसार गत आवमा १०० र ५० दरका कुल ६ लाख १६ हजार थान नक्कली डलर बरामद भएको छ ।
यो अघिल्लो आवको तुलनामा २१२०.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा सोही दरका २७ हजार ७४० थान नक्कली डलरका नोटहरु मात्रै बरामद भएको थियो ।
विशेषगरी नेपालजस्तो विकासोन्मुख वा आर्थिक रुपले केही कमजोर देशहरुमा छिटो पैसा कमाउने उपायको रुपमा नक्कली नोटको विकृति बढेको देखिन्छ । नेपाल प्रहरीका अनुसार गत आवमा नेपाली दरका नक्कली नोटहरु बरामदमा कमी आएपनि डलर र युरोको नक्कली नोटको बिगबिगी भने नेपालमा धेरै देखिएको छ।
गत आवमा नेपाली रु. एक हजार, पाँच सय, एक सय र पचास दरका १८ लाख ७८ हजार १०० थान नक्कली नोटहरु बरामद भएको छ । यो दर अघिल्लो आवको तुलनामा ९६.३० प्रतिशत कम हो ।
अघिल्लो आवमा ५ करोड ८ लाख ७३ हजार थान नक्कली नेपाली नोटहरु बरामद भएको थियो ।
त्यस्तै दुई हजार, एक हजार, पाँचसय र एकसय दरका कुल ३८ हजार ३८० थान भारतीय रुपैयाँ(भारु) नोट बरामद भएको नेपाल प्रहरीले जनाएको छ । अघिल्लो आवमा भने ४३ हजार ९२० थान नक्कली भारतीय नोटहरु बरामद भएको थियो ।
त्यस्तै, गत आवमा १४ करोड ७० लाख रुपैयाँबराबरको नक्कली युरो बरामद भएको नेपाल प्रहरीले जनाएको छ ।