काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’सम्बन्धी सेमिनार आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान–प्रदान भएकोे बैंकले जनाएको छ । मधेश केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुदब्याजअ ाम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
अवधिभरमा बैंककोे कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ ।
यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर (आरओए) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (आरओई) ५.८१ प्रतिशत कायम भएको छ ।