काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको सिएफओ कन्फेरेन्स २०२६ सम्पन्न भएको छ । वित्तीय क्षेत्रमा कार्यरत प्रमुख बित्त अधिकृतहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा वित्तीय नेतृत्व र यसका विभिन्न आयामहरुका बारेमा चर्चा गरिएको थियो ।
'Leading Beyong Finance, Shaping the Future ' थिमलाइन दिईएको सो कन्फेरेन्समा विभिन्न क्षेत्रका प्रमुख बित्त अधिकृत, उद्योगी–व्यवसायी, नीतिनिर्माता, वित्त तथा व्यवस्थापन विज्ञ, चार्टर्ड एकाउन्टेन्ट र पेशागत प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा बदलिँदो आर्थिक परिवेशमा वित्तीय नेतृत्वको भूमिका, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन तथा दिगो व्यवसायिक विकासका विषयमा चर्चा गरिएको थियो ।
कन्फेरेन्समा सहभागी बक्ताहरुले भविष्यका चुनौती सामना गर्न वित्तीय नेतृत्वलाई तथ्यमा आधारित निर्णय गर्नुपर्ने, प्रविधिको प्रभावकारी प्रयोग गरिनुपर्ने र अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल गरिनुपर्ने विभिन्न विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष सिए निल बहादुर सारुमगरले नेपालको आर्थिक समृद्धिमा सीएफओको रुपमा कार्यरत सिएहरुको भूमिका उल्लेखनीय रहेको बताए । सीएफओको भूमिकामा देशभरका विभिन्न संघ संस्थाहरुमा सिएहरुले सराहनीय काम गरेको बताउँदै उनले सिएफओका रुपमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरुको वृद्धि बिकासमा आइक्यानले गर्नुपर्ने हरेक खालका कार्यक्रमका लागि आइक्यान तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै सिए रत्न राज बज्राचार्यले आफ्नो व्यवसायिक जीवनको अनुभवसमेत सुनाएका थिए । सिएफओका रुपमा कार्यरत सिएहरु निकै लगनशील रहेको उल्लेख गर्दै उनले बदलिँदो परिवेशसँगै सिएहरुले पनि आफुलाई थप परिस्कृत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोज कुमार ज्ञवालीले पछिल्ला दिनमा सीएफओहरुको भूमिकामा बृहत परिवर्तन आईसकेकाले सिएफओहरु प्राविधिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिए । अवका दिनमा हरेक सीएफओहरुले आफुलाई संस्थाको सिइओ नै सम्झेर काम गर्नुपर्ने बताउँदै ज्ञवालीले सीएफओले लेखासँग सम्बन्धित कामहरुमा मात्र भन्दा पनि संस्थाको बृहत्तर बिकास र प्रगतिका लागि सोच्नुपर्ने बताए ।
कन्फेरेन्समा 'Building the Financial Infrastructure MCFO at the Crossroads bridging the gaps' प्यानल डिस्कसनसमेत भएको थियो ।

