Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

'ड्राई आइस' के हो, त्यो खाँदा भारतको एक रेष्टुराँमा मानिसहरूको मुखबाट रगत बग्यो

Global IME Bank Limited
'ड्राई आइस' के हो, त्यो खाँदा भारतको एक रेष्टुराँमा मानिसहरूको मुखबाट रगत बग्यो
Nabil Bank Limited

सुशीला सिंह

बीबीसी संवाददाता

भारतको राजधानी नयाँ दिल्ली नजिकैको गुरुग्राममा माउथ फ्रेसनर खाएपछि पाँच जना बिरामी परेको घटना सार्वजनिक भएको छ।

यस घटनालाई लिएर दर्ता गरिएको उजुरी अर्थात् एफआईआरमा जनाइए अनुसार २ मार्चको साँझ छ जना गुरुग्रामको एक निजी रेस्टुराँमा खाना खान गएका थिए।

खाना खाइ सकेपछि रेस्टुराँका वेटरले उनीहरूलाई दिएको माउथ फ्रेसनर पाँच जनाले मात्रै खाएका थिए।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

माउथ फ्रेसनर खाएपछि पाँच जनाको मुखमा जलन हुँदै रगत बग्न थाल्यो।

एफआईआरमा लेखिए अनुसार छैटौँ व्यक्तिले काखमा बच्चा भएकाले माउथ फ्रेसनर खाएका थिएनन्।

ती छैटौँ व्यक्तिले वेटरलाई के खुवाएको भनेर जोडबलसाथ सोधेपछि उनले एक पोलिथिन देखाए।

ती व्यक्तिहरूले उक्त पोलिथिनको प्याकेट आफूसँग लिँदै सहायताका लागि प्रहरीलाई १०० नम्बरमा फोन गरे।

माउथ फ्रेसनर खाएपछि पाँच जनाको स्वास्थ्य बिग्रँदै गएको देखेर गुरुग्रामको निजी आर्वे अस्पतालमा भर्ना गरियो र डाक्टरलाई माउथ फ्रेसनर लेखिएको पोलिथिन देखाइएको थियो।

ड्राई आइसको असर

एफआईआरका अनुसार उक्त अस्पतालका डाक्टरले पोलिथिनमा रहेको वस्तुलाई ड्राई आइस भनेका छन् र ती व्यक्तिले त्यो पोलिथिन अस्पताललाई बुझाएका छन्।

यस घटनाका पीडित अंकितसँग बीबीसीले सम्पर्क गर्ने प्रयास गरे पनि उनले आफू ठिक नभएको र सञ्चारमाध्यममा सबै जानकारी आइसकेको भन्दै कुरा गर्न अस्वीकार गरे।

यस विषयमा अनुसन्धान भइरहेको, रेस्टुराँका मालिक र कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको अनि व्यवस्थापकलाई पक्राउ गरिएको छ।

यस घटनामा प्रहरीले भारतीय दण्ड संहिताको धारा ३२८, १२० बी लगाएको छ।

उक्त धाराहरूको व्याख्या गर्दै वकिल सोनाली कादवासराले भनेकी छन्: "आईपीसी को धारा ३२८ अपराधको मनसायसाथ विष इत्यादिको माध्यमबाट हानी पुर्‍याउनेसँग सम्बन्धित छ। जबकि सोही धाराको १२०बी कुनै पनि अपराध गर्ने आपराधिक षड्यन्त्रसँग सम्बन्धित छ।"

उनी भन्छिन्, "गुरुग्रामको यस घटनामा लापरबाही देखिन्छ तर ‘आशय’ स्थापित गर्न गाह्रो हुन सक्छ। प्रहरीले यस विषयमा सरोकारवालासँग छानबिन गर्नुपर्छ।"

ड्राइ आइस के हो?

दिल्लीको सीके बिरला अस्पतालमा इन्टरनल मेडिसिनका निर्देशक डा. राजिव गुप्ताका अनुसार ड्राई आइस कार्बनडाइअक्साइडको ठोस रूप हुने गर्छ।

यसलाई झण्डै माइनस ७८ डिग्री सेल्सिअसको न्यूनतम तापक्रममा राखिन्छ।

यसको प्रयोग वस्तुहरू जमाउन वा चिसो बनाउन प्रयोग गरिन्छ र यो सामान्य बरफजसरी पग्लिहाल्दैन।

डा. राजीव गुप्ता भन्छन्: "सामान्यतः ड्राइ आइस सुरक्षित हुन्छ। तर यसको तापक्रम कम भएकाले छालाको सम्पर्कमा आएमा भने फ्रस्टबाइट वा कोल्ड बर्न (चिसोका कारण हुने जलन) जस्ता समस्या निम्तिन सक्छन्।"

एनेस्थेसियोलोजिस्ट डा सचिन मित्तलका अनुसार ड्राई आइस सामान्य बरफजस्तै सेतो देखिन्छ तर सामान्यतः प्रयोग हुने पानी (एचटुओ) लाई एउटा तापक्रममा जमाएर बरफ बनाइन्छ।

तर ड्राई आइस कार्बनडाइअक्साइडको ठोस रूप हो र हावासँगको प्रतिक्रियाका कारण त्यसबाट धुवाँ निस्किरहन्छ।

म्याक्स अस्पतालमा इन्टरनल मेडिसिनका मेडिकल सल्लाहकार डा आशुतोष शुक्ला भन्छन्: "सामान्यतः हिउँ पग्लिएपछि पानी बन्छ र पानी तताउँदा बाफ निस्कन्छ। तर ड्राई आइस पग्लिँदा पानी बन्नुको सट्टा सिधै बाफ बन्छ। यदि यो बन्द ठाउँमा धेरै समय रह्यो भने, यो हानिकारक हुन सक्छ।"

रेस्टुराँमा ड्राई आइस खाएपछि के भयो ?

यी पाँच जनाले ड्राई आइसका टुक्रा खाँदा चिसोका कारण मुखमा अल्सर भएर रगत बग्न थालेको चिकित्सक आशुतोष शुक्ला बताउँछन्।

चिकित्सकहरू पञ्जा नलगाई ड्राई आइस प्रयोगले छालामा जलन हुनसक्ने भन्दै त्यसो नगर्न सुझाउँछन्।

डाक्टर सचिन मित्तल भन्छन्, "ड्राई आइस धेरै चिसो हुने भएकाले यो पेटमा पस्ने बित्तिकै त्यहाँ प्वाल बनाउँछ जुन निकै घातक हुनसक्छ। त्यसको ग्यास फोक्सोमा पुगेमा बेहोस हुने अवस्था बन्न सक्छ।"

डाक्टर सचिन मित्तलका अनुसार शरीरलाई हानि पुर्‍याउने ड्राई आइसको मात्रा कति हो भनेर भन्न गाह्रो हुन्छ।

तर घटनाहरूका आधारमा भन्दा बच्चाले ३० ग्रामको एक टुक्रा खाँदा शरीरमा हानि पुग्न सक्छ।

ड्राई आइस केका लागि प्रयोग गरिन्छ?

डाक्टर सचिन मित्तलका अनुसार आजकल ड्राई आइस प्रयोग गर्ने क्रम बढेको छ।

रेस्टुराँमा धुवाँ देखाएर खानेकुरालाई आकर्षक देखाउन प्रयोग गरिए पनि विवाह समारोहमा समेत बेहुला- बेहुली प्रवेशको समयमा कुहिरोले झल्को आउने गरी यसको प्रयोग भइरहेको छ।

तर बन्द कोठामा ड्राई आइसको धुवाँ प्रयोग गरेमा शरीरमा अक्सिजनको कमी हुने, कार्बन डाइअक्साइडको मात्रा बढ्ने र बेहोस हुने अवस्था आउन सक्छ।

लामो समयसम्म खाद्य वस्तुहरू जोगाउन समेत यसको प्रयोग गरिन्छ।

चिकित्सकहरूका अनुसार ड्राई आइस एक उत्कृष्ट 'कुलिङ् एजेन्ट' भएकाले औद्योगिक आवश्यकताहरूको लागि समेत त्यो प्रयोग गरिएको हुन्छ।

तापक्रमलाई माइनस ३० डिग्री सेन्टिग्रेडसम्म लैजान सकिने भएकाले खानेकुरालाई जोगाउन पनि यसको प्रयोग हुन थाल्यो ।

लिक्विड नाइट्रोजन र ड्राई आइस

सन् २०१७ मा दिल्लीस्थित एक बारमा एकजनाले लिक्विड नाइट्रोजन भएको पेय पदार्थ पिएका थिए।

खासमा यसबाट धुवाँ निकालेपछि उनले आफ्नो पेय पिउनुपरेको थियो। त्यसरी पिएपछि उनलाई पेट दुख्ने, पेट फुल्ने र सास फेर्न गाह्रो हुन थाल्यो ।

ती व्यक्तिलाई अस्पताल लगेर शल्यक्रिया गर्दा उनको पेटमा ठूलो प्वाल भएको थाहा भयो।

त्यस्ता पेय पदार्थ वा खानेकुरामा यस्तो प्रभाव देखेर मानिसहरू आकर्षित हुने र चिसो बनाउन पनि प्रयोग हुने चिकित्सकहरू बताउँछन्।

डाक्टर सचिन मित्तलका अनुसार नाइट्रोजन ड्राई आइस जत्तिकै खतरनाक नभए पनि यो शरीरमा छिट्टै सोसिने बताउँछन्। उनले यसको उचित प्रयोग गर्न नजाने त्यो हानिकारक हुन सक्ने बताउँछन्।

पछिल्लो यस घटनाले सम्भावित खतरनाक उत्पादनका बारेमा उपभोक्तालाई सचेत गराउनु पर्ने कुरालाई उपभोक्ता अदालतले विचार गर्न सक्ने देखाएको वकिल सोनाली कादवासरा बताउँछिन्।

त्यसबाहेक खाद्यवस्तुलाई आकर्षक बनाउन ड्राई आइस वा लिक्विड नाइट्रोजनको प्रयोग गर्न नहुने चिकित्सकहरू बताउँछन्।

-बीबीसीबाट

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.