काठमाण्डौ । मंगलबार देशभर प्रदर्शन चर्किएको छ । केपी ओली नेतृत्वको सरकारले निर्मम ढंगले प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका २० जनाको गोली हानी हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित जनमानसले बिहानैदेखि काठमाण्डौ लगायतका देशका प्रमुख शहरी क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
यो क्रममा केहीबेरअघि प्रदर्शनकारीले ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आगजनी गरेका छन् ।
सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
उता, कलंकी क्षेत्रमा भने सुरक्षाकर्मी र प्रदर्शनकारीबीच दोहोरो झडप भइरहेको छ । प्रदर्शनकारीले त्यहाँको टाफिक बिटमा आगजनी गरी ढुंगामुडा गरेपछि दोहोरो झडप भएको हो । झडपका कारण कलंकी क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।