काठमाण्डौ । बीमा गर्दा गर्दा ध्यान दिनुपर्ने धेरै महत्वपूर्ण कुराहरू हुन्छन्। बीमा एक वित्तीय सुरक्षा प्रणाली हो, तर सही तरिकाले नगरेमा पछि समस्या आउन सक्छ।
नेपाल बीमा प्राधिकरणको डेटा अनुसार पछिल्लो समय नबुझिकन बीमा गर्दा पोलिसी सरेन्डर र बीमा लेख व्यतीत हुने संख्या बढ्दै गएको छ । यस्ता कुराले सिङ्गो बीमा क्षेत्रमा विभिन्न समस्याहरू आउन सक्छन् ।
बीमितले नबुझिकन बिमा गर्दा दाबी अस्वीकृत हुने जोखिम, अप्रत्याशित खर्च झेल्नुपर्ने, दाबी प्रक्रिया झन्झटिलो हुने, गलत जानकारीले बीमा गरेमा वा बीमा गराइएमा कानूनी समस्या आउने, आवश्यकभन्दा कम कभरेज, नवीकरण छुट्दा कभरेज गुम्ने, लागत बढी तिर्नुपर्ने र गलत बीमा योजना छनोट हुने जस्ता समस्याहरू आउन सक्छन् ।
बीमा प्राधिकरणले पनि बीमा पोलिसी सरेन्डर दर कम गर्न र व्यतीत बीमा लेखको दर कम गर्न पटकपटक सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। साथै बीमा कम्पनीहरूले पनि बीमा पोलिसी त्याग्नेहरूको सङ्ख्या घटाउन वा व्यतीत भएको बीमा लेखको सङ्ख्या दर कम गर्न विभिन्न योजनाहरू ल्याइरहेका छन्। बीमा कम्पनीहरूले पटकपटक व्यतीत भएका बीमा लेख नवीकरण गर्दा शतप्रतिशत छुट दिने खालका योजनाहरू ल्याइरहेका छन्। तर यस्ता खालका योजनाले वास्तविकतामा भने कुनै प्रभाव पार्न सकेको छैन।
नेपाल बीमा प्राधिकरणले यसरी व्यतीत भएको बीमालेको दर कम गर्न र सरेन्डर दर कम गर्न बीमा गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनि विमितहरूलाई सुसुचित गराइरहेको छ ।
प्राधिकरणका अनुसार बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरू ः
–बीमालेखको बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय, इच्छाइएको व्यक्तिको नाम, बीमालेख बमोजिम दाबी रकम पाउने र नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडि नै बुझ्नुपर्दछ।
–बीमितले बीमाशुल्क बुझाएपछि यसको आधिकारिक भरपाई वा रसिद लिनुपर्दछ ।
–बीमितले आफ्नो आवश्यकता, पेशा एवं आम्दानीको स्रोत समेतलाई मध्यनजर गरी बीमा गर्नुपर्दछ।
–अन्यथा समयवधि पुरा नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन सक्दछ।
–प्रस्ताव फारम खुलाउनुपर्ने सम्पूर्ण विवरणहरु स्पष्टसँग खुलाई भर्ने ।
–बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाबारे सम्पूर्ण जानकारी लिएर मात्रै बीमा गर्ने ।