काठमाण्डौ । आज पनि पोखराबाट ग्राउण्ड जीरोको रिपोर्ट तयार गर्न विभिन्न ब्रोकर हाउसहरुमा पुग्दा अघिल्लो साता उच्च अंकले उतारचढावपूर्ण रहेको बजार यो साता कस्तो रहला भन्ने लगानीकर्तामा निकै अन्यौल रहेको पाइयो ।
आज हामी पुगेका प्रायः ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति निकै शून्य देखिन्थ्यो । ब्रोकरहाउसमा भेटिएका केही लगानीकर्ताहरुले आज र भोलिको करेक्सनपछि बजार सम्हालिने प्रतिक्रिया दिए । तर केहीले भने राजनीतिक माहौल प्रष्ट नहुँदासम्म सेयर बजारले गति लिन नसक्ने तर्क गरेको पनि सुनियो ।
न्यूरोडस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट प्रालि (स्टक ब्रोकर नम्बर ५३)को शाखा कार्यालयमा पुग्दा ब्रोकर हाउस सुनसान देखिन्थ्यो भने डिस्प्ले पनि बन्द नै थियो । त्यहाँका ब्रोकर प्रतिनिधिले अहिले अनलाइनबाट नै कारोबार गर्ने भएका कारण ब्रोकरहाउसमा लगानीकर्ता कम नै आउने गरेको बताए ।
बिहानको ११ बजिसेकेको थियो । अघिल्लो कारोबारमा दोहोरो अंकले बढेको बजारमा आज पहिलो प्रहरमा तीव्र बिक्री दबाब देखिएको थियो । ब्रोकरहाउसमा फोनका घण्टीहरु बज्दै थिए भने ब्रोकर सञ्चालकले फोन गर्ने आफ्ना ग्राहकलाई बजारको अवस्था केही भन्न नसकिने र बजारको बटम यहि हो भन्न पनि कठिन रहेको जवाफ दिदैँ थिए ।
बजारमा तीव्र उतारचढाव चलेको थियो भने पहिलो एक घण्टामा डेढ अर्ब माथिको कारोबार र ५० अंकको गिरावट आएको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अहिले जति किन्यो त्यति नै नोक्सान भएको बताउँदै थिए ।
केही समयको बसाईपछि हामी नजिकै रहेको नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८)को शाखा कार्यालयमा पुग्यौं । मध्यान्हको १२ बजिसकेको थियो। यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । बजार एकोहोरो ७० अंकले घट्दै थियो भने कारोबार साढे २ अर्बभन्दा बढीको भएको थियो ।
यत्तिकैमा एक महिला लगानीकर्ताले भनिन्, ‘लौ बजारले राम्रै मुटु हल्लायो ।’ उनीसँगै बसेका एक पुरुष लगानीकर्ताले ठट्यौली पारामा यसपालिको तिहार पनि खल्लो हुने जवाफ दिए। ‘दिदीबहिनीलाई दक्षिणा दिने पैसा पनि नहोलाजस्तो छ,’ उनले भने ।
ब्रोकरहाउसमा यस्तै गल्फत्ती चल्दै गर्दा बजारमा घट्ने क्रम एकहोरो चालमा चल्दै थियो । बजार सम्हालिन नसकेको देखेर निराश बनेका लगानीकर्ताका कारण ब्रोकर हाउसको वातावरण समेत निरश थियो ।
केही समयको बसाईपछि यहाँबाट हामी नजिकै रहेको अर्को ब्रोकर हाउस प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यहाँ केही लगानीकर्ता विन्ध्यबासिनि जलविद्युत कम्पनीको आईपीओ बेच्न आएका भेटिन्थे । केही दोस्रो बजारका कारोबारीहरु बजार किन घट्यो भन्दै अत्तालिँदै ब्रोकर हाउसमा आइपुगेका बताउँदै गरेको भेटिए ।
यस ब्रोकरहाउसमा भेटिएका ती लगानीकर्ताले भने, ‘अहिले बजारमा सबैतर्फबाट दबाब पर्यो । असोज महिनाको ब्याजको पनि दबाब छ । त्यसैगरी, चाडपर्वका कारण पनि बजारमा दबाब पर्यो । राजनीतिक अस्थिरतासँगै पैसा भएका लगानीकर्ताहरु पनि खरिद गर्नबाट पछि हटे ।’ उनीसँगै बसेका एक लगानीकर्ताले ठूला अपरेटरले सेयर बेच्दा बजार घट्न पुगेको बताए । उनले भने, ‘हामी जस्ता साना लगानीकर्ता बजार घट्दा डराएका छौं । धेरै लगानीकर्ताहरुको मनोबल घटिसकेको देखिन्छ ।
भित्ताको घडीले २ बजेको संकेत दिइसकेको थियो, जुनबेला नेप्से परसूचक पनि २५ सयको विन्दुबाट तल झरिसकेको थिया । यहाँबाट हामी नजिकै रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)को शाखा कार्यालयमा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । यहाँ भेटिएका लगानीकर्ताले सेयर बजारमा बिशाल बजार कम्पनीको सेयरमा चलखेल भएको बताउँदे थिए । केहीले भने बजार घट्दै जाँदा ठूला कम्पनी एनआरआईसी र एचआरएल जस्ता कम्पनीको सेयरमूल्य खस्दा बजारमा ठूलो पहिरो गएको बताएका थिए ।
एक लगानीकर्ताले बजार सधैं घटेको घट्यै नगर्ने र एकदुई दिन पछि सम्हालिने बताए । उनीसँग असहमति जनाउँदै एक लगानीकर्ताले बजार २५ सयबाट तल गएमा थप मार्जिन कल आउनसक्ने आँकलन पनि गरे । तर केहीले भने प्राविधिक पक्ष केलाउँदै बजारले कुनै पनि बेला फेरि यूर्टन लिनसक्ने आशा पनि व्यक्त गरे ।