काठमाण्डौ । तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ताहरु यतिबेला आन्दोलनरत छन् । साबिक युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट २०८० साल वैशाख २६ गतेबाट एकीकृत कारोबार भएको थियो ।
तीन कम्पनी एकआपसमा गाभिएर जीवन बीमा क्षेत्रमै सबैभन्दा धेरै पूँजी भएको कम्पनी बनेपनि हिमालयन लाइफ इन्स्योरेन्सको व्यापारमा त्यति ग्रोथ देखिएको छैन । कम्पनीको मेरुदण्डको रुपमा रहेका बीमा अभिकर्ताहरुलाई समेत कम्पनीले मर्जरपश्चात सन्तुष्ट बनाउन सकेको छैन ।
बीमितलाई दिइने बोनसदर घट्दै गएपछि बीमा अभिकर्ताहरु कम्पनीप्रति रुष्ट बनेका छन् ।
बीमितलाई दिने बोनसदर प्रतिहजार ५० रुपैयाँ बनाउनुपर्ने बीमा अभिकर्ताहरुको माग छ । घट्दो बोनस दरका कारण व्यवसाय संकलन गर्न कठिनाई हुन थालेको अभिकर्ताहरुको भनाई छ ।
साथै कम्पनीमा सुशासन समेत कायम नरहेको भन्दै अभिकर्ताहरुले गत एकसातादेखि आन्दोलन गरी सीईओ मनोजलाल कर्ण र अध्यक्ष सुलभ अग्रवालको राजीनामा माग्दै घेराउ समेत गरेका थिए ।
अभिकर्ताहरुले व्यवस्थापनको मनोमानी अन्त्य गर्नुपर्ने मागसहित अध्यक्ष र सीईओको राजीनामा मागेका हुन् । आन्दोलनमा रहेका अभिकर्तासँग वार्ता गरी समस्या समाधान गर्नुको साटो सीईओ कर्णले केही अभिकर्ताहरुलाई प्रलोभनमा पारेर अभिकर्ताबीच द्वन्द्व सीर्जना गरेको अभिकर्ताहरुको आरोप छ ।
साथै कम्पनीले कर्मचारी तथा अभिकर्ताबीचमा फाटो ल्याएको समेत आरोप छ । विशेषगरी बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर गर्नुपर्ने अभिकर्ताहरुको माग रहेको छ ।
कर्णले संगठनलाई बदनाम गर्ने नियतका साथ विभिन्न आरोप लगाई परिस्थितिलाई झनै जटिल बनाएका र व्यवस्थापनको नियन्त्रणभन्दा बाहिर पुर्याउने क्रियाकलापहरु गरेको अभिकर्ताको आरोप छ ।
६ दिनदेखि आन्दोलनमा उत्रिएका अभिकर्ताहरुले सञ्चालक समिति र कम्पनीका उच्च अधिकारीहरुसँग वार्ता गर्न नपाउँदा अभिकर्ताहरु झनै आक्रोशित बन्न पुगे ।
कार्यालयमा नै धर्ना दिएपछि सीईओ कर्ण कार्यालयमा अनुपस्थित भएका थिए । सीईओ नै नआएपछि अभिकर्ताहरुले कार्यालयको मुख्य गेट नै बन्द गरी धर्ना बसेका थिए । समस्यासँग जुध्न नसक्ने र किचलो व्यवस्थापन गर्न नसकेका कारण अभिकर्ताहरुले असक्षम प्रमुख कार्यकारी अधिकृत भन्दै राजीनामा मागेर धर्ना बसेका थिए ।
आन्दोलनको ५औं दिनमा अर्थात सोमबार मात्रै सीईओ कर्णले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले समेत उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
साथै कम्पनीले रिक्त रहेको सीईओ पदमा नियुक्तिका लागि अर्को व्यवस्था नभएसम्म तत्कालै कार्यवाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज हेर्न गरी कामु कार्यकारी अधिकृतको जिम्मेवारी कपिलकुमार दाहाललाई तोकेको छ ।
सीईओले राजीनामा दिएपनि अभिकर्ताहरु भने कम्पनी अगाडि अझै आन्दोलनरत छन् । आफूहरुको माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने अभिकर्ताहरु बताउँछन् ।
सीईओ कर्णले राजीनामा दिनु मात्रै आफूहरुको माग नरहेको र व्यवस्थापकीय पक्ष बलियोसँगै बीमितलाई भुक्तानी गरिने बोनसदर न्यूनतम ५० रुपैयाँ नहुँदासम्म आन्दोलन जारी रहने एक अभिकर्ताले बताए ।
‘पूँजीको आधारमा कम्पनी ठूलो भएपनि अन्य कम्पनीको तुलनामा बोनसदर कम भएपछि हामीलाई बजारमा गएर काम गर्न कठिन भएको छ,’ एक महिला अभिकर्ताले भनिन्, ‘बीमितले बैंकले प्रदान गर्ने ब्याज सरहको बोनसदर पाउनु पर्छ नत्र बीमा कसैले गर्दैन र गरेकाहरुले पनि पोलिसी त्याग गर्छन ।’
केही टोली अभिकर्ता र व्यवस्थापनका केही अधिकारीहरुबीच आज पनि चर्काचर्की नै परेको छ । कम्पनीका कामू सीइओ कपिलकुमार दाहाल, एसीईओ राजनप्रसाद अधिकारी र सीएफओ लक्ष्मण ज्ञवालीले आन्दोलनमा उत्रिएका अभिकर्ताहरुसँग वार्ता गरेका छन् ।
निमित्त सीईओ दाहालले अभिकर्ताहरुलाई माग गरिएको पत्र खोलेर यस विषयमा छलफल गरिने ढाँडस दिए । तर अभिकर्ताहरु भने पत्रको जवाफ पत्रमार्फत नै तत्कालै हुनुपर्ने भन्दै उनीमाथि खनिएका छन् ।
‘नियम कानूनअनुसार काम अघि बढाउनुपर्छ, पत्र खोल्छौं मात्रै भनेर हुँदैन’ एक अभिकर्ताले भने, ‘पत्र भित्र लुकाएर यस विषयमा छलफल गर्छौ मात्रै भनेर अभिकर्तालाई सान्त्वना दिने काम गर्न पाइँदैन ।’
साथै अभिकर्ताहरुले आफूहरुकै अगाडि पत्र खोल्नुपर्ने समेत माग गरेका छन् । कम्पनीका निमित्त सीईओ दाहालले भने अभिकर्ताहरुले भनेबमोजिम नै हुने बताउँदै ढाँडस दिएका छन्।