काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पौने ३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षति भई परेको दाबीको बीमकहरुले कात्तिक ९ गतेसम्ममा २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीले बीमकहरुलाई बीमा वापतको २ अर्ब रुपैयाँ दिएपछि बीमा कम्पनीहरुले भटाभट अग्रिम भुक्तानी सुरु गरेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १८ बीमा कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको बीमा दाबी (अग्रिम भुक्तानी सहित) भुक्तानी गरेको हो ।
साथै, प्राधिकरणका अनुसार सो अवधिसम्म बीमा कम्पनीहरुमा कुल ३ हजार १८७ वटा दाबी अर्थात् २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । अझैपनि बीमा कम्पनीहरुले २३ अर्ब भन्दा दाबीको भुक्तानी दिन बाँकी रहेको छ ।
सो अवधिसम्म सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्योरेन्समा परेको छ । कम्पनीमा कुल ३९७ वटा दाबीको ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी छ । कम्पनीले १ अर्ब २८ करोड ३ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्समा ४३५ वटा बीमाको २ अर्ब ४१ करोड रुपैयाँ, सगरमाथा लुम्बिनीमा ३४२ वटा बीमाको १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा शिखरले ५८ करोड ३२ लाख र सगरमाथा लुम्बिनीले ७ करोड २४ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।

