काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्म ४९ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
बीमकहरुकोे यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १९.८४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
सो अवधिसम्म आइपुग्दा सबै जीवन बीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनी एक्लैले १३ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन यो सबै बीमा कम्पनीको बीमाशुल्क संकलनको २७।३३ प्रतिशत हिस्सा हो ।
त्यस्तै, नेशनल लाइफले ५ अर्ब ६८ करोड, एलआइसी नेपालले ४ अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड, हिमालयन लाइफले ४ अर्ब ४३ करापेड, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड, सिटिजन लाइफले २ अर्ब १७ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करापेड, मेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
गत आवको सोही अवधिसम्मको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउने कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीको व्यवसाय २२२.४९ प्रतिशतले बढेको छ ।


