काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो आम्दानी ९.११ प्रतिशतले बढाउने सफलता पाएको छ ।
केन्द्रीय बैंकले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ÷हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको बताइएको हो ।
राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८२ कात्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्ट्याउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम रु.४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।
२०८२ असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई रु.२६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ ।
वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा ‘बैंकले वासलात, आय व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । साथै, ऐनको दफा ९३(१) मा बैंकको लेखापरीक्षण, बैंकका कामकारबाही र आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
आइतबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका थिए । तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीयववरणलाई प्रस्तुत गरिएको छ ।

