काठमाण्डौ । आईपीओ निष्कासनको अनुमतिको प्रतिक्षामा रहेको छायादेवि कम्प्लेक्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा मंसिर २६ गते काठमाण्डौको ठमेलमा रहेको होटल एलफ्टमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै २०८१ भदौ २ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता ४०० रुपैयाँ प्रिमियममा ५७ करोड ५० लाख रुपैयाँको १४ लाख ३७ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबनधकको रुपमा प्रभु क्यापिटल रहेको छ ।

