काठमाण्डौ । सप्तकोशी सिमेन्टको उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले रु. १०० अंकित दरका जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । यस सम्बन्धमा मंसिर १० गते काठमाण्डौ त्रिपुरेश्वरस्थित सप्तकोशी सिमेन्टको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे ।
सप्तकोशी सिमेन्ट लिमिटेडको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पिपिसी तथा ४३ र ५३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एचआर गोयल समूहद्वारा प्रवर्धित यस कम्पनीले सन् २०१९ मा व्यवशायिक उत्पादन सुरु गरेदेखि हाल सम्म निरन्तर संचालन नाफा कायम राख्न सफल रहेको छ ।
पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको यस कम्पनीले अन्य क्षेत्रिय प्रतिस्पर्धीहरु माझ निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री लक्ष्य हासिल गर्न सफल भएको जनाएको छ ।
साथै, आव २०८१/८२ को मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस सेयर समेत जारी गरेको छ । प्रस्तावित आईपीओबाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना गर्न तथा हाल संचालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ । यसले उत्पादन प्रकृयामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तिय प्रदर्शन र दिर्घकालिन वृद्धिलाई थप बलियो बनाउने छ ।

