काठमाण्डौ । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल ३ हजार २५५ वटा बीमा दाबीको करिब रू. २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।
प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये रू. ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम रू. ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव रू. ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको रू. ५५ करोड ४ लाख दाबी रकममध्ये रू. ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको रू. १ करोड ६९ लाख दाबी रकममध्ये रू. ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको रू. ३९ करोड १८ लाख दाबी रकममध्ये रू. ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी सहित दाबी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

