काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर 2025’ अवार्ड प्राप्त गर्दै लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको सम्मान हात पारेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्स समूहले डिसेम्बर ३ मा लन्डनमा आयोजना गरेको विशेष समारोहमा सिटिजन्स बैंकलाई यो अवार्ड प्रदान गरेको हो।
समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले संयुक्त रुपमा पुरस्कार ग्रहण गर्नुभएको थियो। यसअघि पनि बैंकले ‘बैंक अफ द ईयर 2024’ प्राप्त गरिसकेको थियो, जसले सिटिजन्स बैंकलाई लगातार दुई वर्ष विश्व स्तरको मान्यता दिलाएको छ।
कार्यक्रममा १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, सीईओसहित करिब ४०० प्रतिनिधिहरूको उपस्थिति थियो।
अध्यक्ष पाण्डेले “बैंकिङ क्षेत्रको ओस्कार” मानिने यस पुरस्कार लगातार दुई वर्ष जित्न पाउँदा आफूहरू अत्यन्त गौरवान्वित भएको बताउँदै, यसले बैंकलाई अझ उत्कृष्ट र ग्राहकमैत्री डिजिटल बैंकिङ सेवा विस्तार गर्न प्रेरणा दिएको उल्लेख गर्नुभयो।
यस्तै, सीईओ पोखरेलले यो उपलब्धि सम्पूर्ण स्टेकहोल्डर, ग्राहक र कर्मचारीहरूको निरन्तर सहयोग तथा मेहनतको परिणाम भएको बताउँदै सुशासन, प्रुडेन्ट बैंकिङ र हरित बैंकिङ सेवामा अझ सुदृढरुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालमा सन् २००२ देखि विभिन्न बैंकहरूले यो अवार्ड प्राप्त गर्दै आएका छन् भने हालसम्म जम्मा ९ वटा बैंकले मात्रै यो मान पाएका छन्। यो अवार्ड द बैंकर म्यागजिनमार्फत वार्षिक रूपमा प्रकाशित गरिन्छ।
नवीन सेवाहरूमार्फत ग्राहक अनुभव उन्नत
सिटिजन्स बैंकले हालै ग्राहक सुविधा र डिजिटल रूपान्तरणलाई लक्षित गर्दै थुप्रै नवीन सेवाहरू सार्वजनिक गरेको छ:
-नेपालमै पहिलो “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड)
-युवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट”
-एकीकृत अनलाइन प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा”
-फ्रिलान्सरका लागि विशेष “फ्रिलान्सर सेभिङ अकाउन्ट”
-नेपालमै पहिलो पटक मोबाइल बैंकिङबाटै शेयर आवेदन र CRN सेवा
-तथा क्रस-बैंक टेलर सुविधा, जसबाट अन्य बैंकका ग्राहकले पनि सिटिजन्स शाखामार्फत क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था।
देशव्यापी सेवा विस्तार
सिटिजन्स बैंकले हाल ६१ जिल्लामा फैलिएका:
-२०० शाखा,
-१६९ एटीएम,
-३ विस्तारित काउन्टर,
-तथा ४२ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ५६ हजारभन्दा बढी ग्राहकलाई दिगो र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

