काठमाण्डौ । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले बिना कुनै अवरोध भारतलाई इन्धन आपूर्ति जारी राख्ने बताएका छन् । अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न लगातार दबाब दिइरहेका बेला पुटिनको यस्तो अभिव्यक्ति आएको हो ।
अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमा थप २५ प्रतिशत कर लगाएको छ । जसका कारण भारतमा अमेरिकी ट्यारिफ बढेर ५० प्रतिशत पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतमा रुसी तेल र हतियार खरिद गर्दा २५ प्रतिशत जरिवाना समेत ५० प्रतिशत कर लगाएका थिए ।
रुसी तेल र हतियार किनेर भारतले युक्रेनविरुद्धको युद्धमा रुसलाई फाइदा पुर्याइरहेको ट्रम्पले आरोप लगाएका छन् । भारतले यो आरोप अस्वीकार गर्दै आईरहेको छ ।
सन् २०२२ मा युद्ध सुरु हुनुअघि रुसबाट भारतको तेल आयात मात्र २.५ प्रतिशत थियो, जुन सहुलियत दरमा रुसी तेल खरिदका कारण २०२४–२५ मा बढेर ३५.८ प्रतिशत पुगेको थियो।

