काठमाण्डौ । प्रभू बैंक लिमीटेडको प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्त हिजोदेखि फरार भएकी छिन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली उनीविरुद्ध पक्राउपुर्जी लिएर आइतबार(हिजो) दिउँसो बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा पुगेको थियो । सीआईबी प्रवेश गर्नुअघि नै प्रहरी टोली लिन आउँदैछ भन्ने सूचना पाएपछि उनी बैंकभित्रै हराएकी थिइन्।
प्रहरीले उनलाई दिनभर पनि बैंकको कोठाचोटा चाहर्दै खोज्यो । सीसीटिभी फूटेज हेरेर समेत सर्च अपरेशन चलायो, तर भेट्टाएन । प्रहरी टोली साँझ बैंक परिसरबाट निस्किए पछि कार्यालय आसपासकै क्षेत्रमा ढुकेर बसेको थियो । आइतबार राति १ बजेसम्म प्रहरी बस्दा समेत रश्मीलाई फेला पार्न सकेन । पन्त जादूको शैलीमा एकाएक हिजोबाटै गायब भइन् ।
सीआईबीको टोली हिजो रित्तै हात फर्किए पनि खोजी कार्यलाई जारी राखेको छ । उनी भाग्नसक्ने र जानसक्ने सम्भावित ठाउँहरुमा खोजी भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।
आफूले राष्टबैंक र सीआईबीलाई मिलाइसकेको भन्दै बैंकका सीईओ, डिसीईओ पक्राउपछि भाईको विवाहको वाहाना बनाएर कञ्चनपुर पुगेकी चतुर पन्त कार्यालय छाडेको १० औं दिन काममा फर्किएकी थिइन् । त्यसको केही दिनमै सीआईबीले उनलाई पक्राउ गर्न खोजे पनि उनले उल्टै चक्मा दिएर भाग्ने सफलता पाएकी हुन् ।
आइतबारदेखि सम्पर्कविहीन भएकी रश्मी सोमबारदेखि कार्यालय आउन छाडेकी छिन् ।
बैंकका केही अधिकृतहरुले भने सीआईबीले चाहँदा पन्तलाई केही दिनअघि नै पक्राउ गर्नसक्ने अवस्था रहेको, तर हिजो पक्राउ गर्न आएको देखाएर कतै जानाजान भगाइएको त होइन भन्ने आशंका उब्जिएको बताएका छन् । 'सीआईबीले पक्राउ गर्न सक्ने अन्य बाटो र आधारहरु पनि थिए । तर, यत्तिको दिनसम्म छाडेर हिजै किन आयो भन्ने विषय शंकास्पद देखिन्छ ।' एक अधिकृतले बिजशालासँग भने ।
बैंकिंग कसूर र किर्ते गरी बैंकलाई करोडौं नोक्सानी पुर्याएको आरोपमा प्रहरीले मंसिर १४ गते प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन लगायत तीनजनालाई पक्राउ गरेको थियो । केही दिनअघि एक अर्का उच्च अधिकृतलाई समेत नियन्त्रणमा लिएको थियो । त्यसपछि पन्तको पालो आएको थियो, तर उनी फरार भइन् ।
बैंकभित्र शेरचन समूहले आफूहरु निलम्बनमा परिसकेको अवस्थामा भावी नेतृत्वमा पन्तलाई लैजाने खेल हिरासतबाटै खेलिरहेका कतिपयले दाबी गर्ने गरेका छन् । शेरचनले नै ग्रुम गरेका कारण पन्त सीईओ भएको खण्डमा उनीहरुको मिलेमतोमा भएको घोटालाका कैयन फाइलहरुको व्यवस्थापन गर्ने उनीहरुको योजना रहेको समेत बैंकभित्रकै कर्मचारी दाबी गर्छन् । यिनै खेलहरुका कारण सुनियोजित ढंगले पन्तलाई भगाइएको हुनसक्ने समेत कतिपयको आशंका छ ।

