काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध विदेशी मुद्रा सटही सुविधामा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै उद्योग तथा व्यवसायीलाई प्रदान गरिने सटही सीमामा परिवर्तन गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब उद्योगले चाँदी आयातका लागि मासिक रूपमा अधिकतम २० लाख अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा लिन सक्नेछन्। त्यसैगरी, अन्य व्यवसायीले महिनामा ४ लाख अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न पाउनेछन्।
यसअघि भने उद्योगलाई एकपटकमा ५ लाख अमेरिकी डलर र अन्य व्यवसायीलाई एकपटकमा १ लाख अमेरिकी डलर बराबरको सटही सुविधा दिइँदै आएको थियो। संशोधनपछि एकपटकको सीमा हटाइएर मासिक कोटा प्रणाली लागू गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाले चाँदी आयात प्रक्रियालाई व्यवस्थित बनाउने र विदेशी मुद्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

