काठमाण्डौ। जर्मनीको पश्चिमी सहर गेल्सेनकिर्शेनमा नयाँ वर्ष आउन केही दिन मात्र बाँकी रहँदा ठूलो परिमाणको बैंक डकैती भएको खुलासा भएको छ। उक्त सहरस्थित एक बैंकबाट करिब ३ करोड युरो बराबरको नगद, सुन तथा बहुमूल्य गरगहना चोरी भएको जर्मन प्रहरीले जनाएको छ।
जर्मन सञ्चारमाध्यम डीडब्ल्यूका अनुसार यस घटनालाई पछिल्ला वर्षहरूमा जर्मनीमा भएका सबैभन्दा ठूला र योजनाबद्ध बैंक डकैतीमध्ये एक मानिएको छ। डकैतीको पुष्टि मंगलबार मात्र सार्वजनिक गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार डकैत समूहले बैंकको भूमिगत पार्किङ प्रयोग गरी भित्र प्रवेश गरेका थिए। त्यहाँबाट पर्खाल ड्रिल गर्दै उनीहरू बैंकको भल्टसम्म पुगेको अनुमान गरिएको छ। डकैतीमा प्राविधिक रूपमा दक्ष र संगठित गिरोह संलग्न रहेको प्रहरीको शंका छ।
डकैतहरूले करिब ३ हजारभन्दा बढी सेफ–डिपोजिट बक्स तोडफोड गरेका थिए। ती बाकसहरूमा ग्राहकहरूले राखेको नगद, सुन तथा गरगहना रहेको बताइएको छ। प्रत्येक बाकसको औसत बीमित मूल्य करिब १० हजार युरो मान्दा प्रारम्भिक क्षति करिब ३ करोड युरो पुगेको प्रहरीको अनुमान छ।
सोमबार भवनभित्र फायर अलार्म बजेपछि आपतकालीन सेवाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि मात्र बैंकभित्र भएको ठूलो डकैती सार्वजनिक भएको हो।
उक्त घटनका केही साक्षीहरूले रातको समयमा पार्किङ ग्यारेजको भर्याङमा भारी झोला बोकेका मानिसहरू देखेको बताएका छन्। प्रहरीद्वारा जाँच भइरहेको सीसीटीभी फुटेजमा सोमबार बिहान सबेरै पार्किङ क्षेत्रबाट कालो रंगको अडी आरएस–६ कार बाहिरिएको देखिन्छ। कारमा सवार व्यक्तिहरूले अनुहार छोपेका थिए र प्रयोग गरिएको नम्बर प्लेट पहिले नै उत्तरी जर्मनीको हानोभर सहरबाट चोरी गरिएको पुष्टि भएको छ।
घटनापछि बैंकका धेरै ग्राहकहरू आफ्नो सुरक्षित बाकसमा राखिएको सम्पत्तिबारे जानकारी लिन बैंक शाखा पुगेका छन्। कतिपयले बीमाले नछोप्ने खालको ठूलो क्षति भएको गुनासो गरेका छन्।
प्रहरीले हाल ग्राहकहरूलाई व्यक्तिगत उजुरी दिन नआत्तिन आग्रह गरेको छ। बैंकले सम्पूर्ण क्षतिको विवरण संकलन गरी नियमित रूपमा अनुसन्धान निकायलाई उपलब्ध गराइरहेको जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

