काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति पुनः निर्धारण गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि डाकेको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।
पुस २२ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस ३० गते बुधबारका दिन बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने,आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।

