काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रक्रियागत प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ।
तालिममा सुनचाँदी तथा आभूषण व्यवसायीहरूका लागि गोएएमएल प्रणालीमा अनिवार्य आवद्धताको कानुनी आधार, प्रणालीमा दर्ता गर्ने प्रक्रिया, वित्तीय जानकारी इकाईको भूमिका तथा प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगसम्बन्धी विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
साथै, गोएएमएल प्रणालीको प्रयोगमार्फत वित्तीय पारदर्शिता अभिवृद्धि गर्न तथा अवैध वित्तीय कारोबार नियन्त्रणमा योगदान पुर्याउने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।
प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएकाले सहभागीहरूले तालिमबाट हासिल गरेको ज्ञान तथा सीपलाई आगामी दिनमा आफ्ना–आफ्ना संस्था र सम्बन्धित व्यवसायीहरूमाझ हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा महासंघमा आबद्ध सदस्य संघहरूको प्रतिनिधित्व गर्दै करिब ३५ जनाको सक्रिय सहभागिता रहेको थियो।

