काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरा थप विस्तार गर्ने क्रममा सरकारले अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि समेत छानबिन अघि बढाउने तयारी गरेको दाबी गरिएको छ।
सोमबार एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको भनिएसँगै, पूर्वअर्थमन्त्री शर्मासँग जोडिएको पुरानो विवादित रकम फुकुवा प्रकरण पनि पुनः अनुसन्धानको घेरामा आउन सक्ने उच्च प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार, पृथ्वीबहादुर शाहले अमेरिकाबाट नेपाल ल्याएको भनिएको करिब ४० करोड रुपैयाँको स्रोत खुलाउन नसकिएको विषयमा तत्कालीन अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको घटनामाथि अनुसन्धान केन्द्रित हुन सक्नेछ।
शर्मा अर्थमन्त्री रहेका बेला उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई लिखित निर्देशन दिइएको आरोप यसअघि सार्वजनिक भइसकेको थियो। तर, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले रकमको स्रोत र कानुनी आधार स्पष्ट नभएसम्म फुकुवा गर्न नसकिने अडान लिएको बताइन्छ।
यही विषयलाई लिएर तत्कालीन अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध चिसिएको थियो। पछि सरकारले अधिकारीलाई पदबाट हटाउने निर्णय गरे पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उनी पुनः पदमा फर्किएका थिए।
हाल उक्त प्रकरणलाई सम्पत्ति शुद्धीकरणसँग जोडेर पुनः हेर्ने तयारी भएको स्रोतको दाबी छ। यद्यपि, जनार्दन शर्माविरुद्ध औपचारिक रूपमा अनुसन्धान सुरु भएको वा पक्राउ पुर्जी जारी भएको विषयमा सम्बन्धित निकायबाट सार्वजनिक पुष्टि भइसकेको छैन।
यस विषयमा शर्माको प्रतिक्रिया लिन प्रयास भइरहेको छ। उनको प्रतिक्रिया आएपछि समाचार अद्यावधिक गरिनेछ।

