नेपालगञ्ज । वीरेन्द्रनगरस्थित शुभ होटलमा सोमबार एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम’ चलिरहेको थियो। मञ्चमा महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल बसेका थिए।
प्रदेशका जिल्लागत नेताहरूले सुझाव राखिरहेका बेला साँझ करिब सवा ५ बजे पौडेलका पीएसओ उनी नजिक पुगे। केहीबेरपछि पौडेल कसैलाई जानकारी नदिई हलबाट बाहिरिए। कार्यक्रमभित्र रहेका अधिकांश नेता तथा कार्यकर्ताले उनी पक्राउ परिसकेको कुरा सामाजिक सञ्जाल र समाचारबाट मात्र थाहा पाए।
प्रत्यक्षदर्शीका अनुसार सुर्खेत प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद पोखरेल आफैं सादा पोसाकका प्रहरीसहित होटल पुगेका थिए। उनले पौडेललाई पक्राउ पुर्जी थमाएपछि पौडेल चुपचाप प्रहरीको गाडीमा बसेका थिए। उनलाई होटलबाट सीधै जिल्ला प्रहरी कार्यालय सुर्खेत लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पौडेललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २१ अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको प्रहरीको भनाइ छ।
सुरुमा पौडेललाई सुर्खेतबाटै काठमाडौं पठाउने तयारी भए पनि हवाई तालिका नमिलेपछि नेपालगञ्ज लगिएको थियो। ढिलाइका कारण उनी नेपालगञ्जमै राखिएको जनाइएको छ।
पौडेल पक्राउ परेपछि पनि शुभ होटलमा चलिरहेको एमालेको कार्यक्रम स्थगित भएन। केहीबेर हलमा सन्नाटा छाए पनि कार्यक्रम जारी रह्यो। अन्त्यमा एमाले सचिव तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले सम्बोधन गर्दै सरकारको कदमलाई ‘आतंक सिर्जना गर्ने काम’ को संज्ञा दिएका थिए।
पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न सुर्खेत पुगेका पौडेलले कार्यक्रममा बोल्ने अवसर नै नपाई पक्राउ परेका हुन्।

