काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सालपा विकास बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको घाटा बढ्न पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले १० करोड ४० लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको घाटा १३ लाख ९२ हजार रुपैयाँमा सीमित थियो ।
बैंकको खुद ब्याज आम्दानीमा समेत गिरावट आएको छ । अघिल्लो आवमा ३ करोड ६५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने २ करोड ८१ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि १५ लाख ९० हजारबाट घटेर १५ लाख ६३ हजारमा सीमित बनेको छ । यस्तै बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । बैंकको निक्षेप संकलन १०.८८ प्रतिशतले बढेर १ अर्ब ५३ करोड र कर्जा प्रवाह ४.२६ प्रतिशतले बढेर १ अर्ब १४ करोड पुगेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि २ करोड ४४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकले खराब कर्जा अनुपात भने ५.७१ प्रतिशतबाट घटाएर ४.९२ प्रतिशतमा झारेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १.९९ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०१.३१ रुपैयाँ र तरलता अनुपात ४१.४६ प्रतिशत कायम भएको छ ।

