काठमाण्डौ । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) को पूर्वी क्षेत्रमा बढेको अशान्तिका कारण गत वर्ष राजनीतिक हिंसासम्बन्धी बीमा प्रिमियम पाँचदेखि दस गुणासम्म बढेको बीमा क्षेत्रका अधिकारीहरूले बताएका छन्। यसले बीमाकर्ता कम्पनीहरूको आम्दानी बढाए पनि तामा–कोबाल्ट खानी सञ्चालन गर्ने कम्पनीहरूको लागत भने उल्लेखनीय रूपमा बढेको छ।
रुवान्डा समर्थित एएफसी÷एम२३ विद्रोही समूहले जनवरी २०२५ मा पूर्वी कंगोको प्रमुख सहर गोमा कब्जा गरेपछि स्थिति झनै तनावग्रस्त बनेको थियो। सो आक्रमणसँगै विद्रोहीहरूले यसअघि कहिल्यै नदेखिएको स्तरमा नयाँ क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएका थिए। हिंसाका कारण व्यापक रूपमा व्यवसाय बन्द भए, हजारौँ मानिसको मृत्यु भयो र सयौँ हजार नागरिक विस्थापित भए।
कंगोको दोस्रो ठूलो बीमा कम्पनी एसएफएले आफ्नो करिब २५ प्रतिशत व्यवसाय खानी क्षेत्रबाट लिँदै आएको छ र देशका करिब आधा खानी सञ्चालनकर्तालाई बीमा सेवा प्रदान गर्दै आएको छ। एसएफए कंगोका बोर्ड सल्लाहकार भ्यालेरी सफारियनका अनुसार घटनापछि राजनीतिक हिंसासम्बन्धी बीमा प्रिमियम पाँचदेखि दस गुणासम्म बढेको छ । यद्यपि सन् २०२५ मा सुरक्षा अवस्था केही सहज बनेपछि र बजारमा बीमा क्षमतामा वृद्धि भएपछि दरहरू पुनः घट्न थालेका छन्।
उनका अनुसार, यस झट्काले एसएफएको राजनीतिक हिंसा बीमा पोर्टफोलियो एक वर्षमै करिब ३० लाख अमेरिकी डलरबाट बढेर ६० लाख डलर पुगेको छ। एसएफएका महाप्रबन्धक जाभियर डेनीसले भने, ‘कम्पनीहरूले बीमा नवीकरण वा नयाँ कभरेज सुरक्षित गर्न हतारिँदा माग लगभग एकाएक बढ्यो।’
कंगो विश्वको ७० प्रतिशतभन्दा बढी कोबाल्ट आपूर्ति गर्ने देश हो र यहाँ तामा, लिथियम, कोल्टान तथा सुनका अत्यन्तै समृद्ध भण्डार रहेका छन्। प्रमुख खानी सञ्चालकहरूमा चीनको सीएमओसी, ग्लेनकोर, युरेसियन रिसोर्सेस र चेमाफ रहेका छन्।
सफारियनका अनुसार, विद्रोही आक्रमणबाट खानीहरू प्रत्यक्ष रूपमा प्रभावित नभए पनि खुद्रा तथा औद्योगिक ग्राहकहरूले बढी क्षति व्यहोरेका छन्। डेनीसले औद्योगिक जोखिम—जस्तै सम्पत्ति क्षति, खानी भासिने जोखिम, मेसिनरी बिग्रनु तथा टेलिङ्स ड्याम असफलता—अझै पनि प्रमुख जोखिमका रूपमा रहेको बताए।
बीमा दरहरू तीव्र रूपमा बढेपछि नयाँ पुनर्बीमाकर्ता कम्पनीहरू बजारमा प्रवेश गरे, जसले क्षमता बढाउँदै जनवरी २०२५ सम्ममा प्रिमियमलाई संकटअघिको स्तरतर्फ फर्काउन सहयोग गरेको डेनीसले बताए।
कंगोले सन् २०१८ मा बीमा बजार उदारीकरण गरेपछि गैर–जीवन बीमा प्रिमियम पाँच गुणा बढेर ६७ मिलियन डलरबाट २०२५ मा करिब ३५० मिलियन डलर पुगेको छ। सोही अवधिमा एसएफएको कारोबार सन् २०२४ को ७३ मिलियन डलरबाट बढेर २०२५ मा ८१ मिलियन डलरभन्दा माथि पुगेको छ।
स्थानीय प्राविधिक क्षमता विस्तार हुँदै गएकाले एसएफएले छिमेकी मुलुकहरूमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ।

