काठमाण्डौ । हालै प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको रिलायन्स स्पिनिङ मिल्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले नाफामा दबाब देखाएको छ। आम्दानी स्थिरजस्तै रहे पनि खर्च संरचनामा आएको परिवर्तनका कारण कम्पनीको खुद नाफा उल्लेख्य रूपमा घटेको हो।
कम्पनीले समीक्षा अवधिसम्म १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२४ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बिक्री आम्दानीमा पनि सामान्य गिरावट देखिएको छ। कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ७९ करोड रुपैयाँको बिक्री गरेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको थियो। अन्य आम्दानीसमेत घटेर २ करोड ३३ लाखबाट १ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।
नाफामा दबाब पर्नुको मुख्य कारण प्रशासनिक तथा अन्य खर्चमा आएको उल्लेख्य वृद्धि देखिएको छ। यस्तो खर्च १३ करोड ५५ लाख रुपैयाँबाट बढेर १९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यद्यपि बिक्री तथा वितरण खर्च ८ करोड ९५ लाखबाट घटेर ८ करोड ६६ लाखमा झरेको छ भने वित्त खर्च पनि २४ करोड ३६ लाखबाट घटेर १६ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
१ अर्ब ९० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ८ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १६.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४९०.५४ रुपैयाँ, तरलता अनुपात २.१७ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७६६.७८ रुपैयाँ कायम भएको छ ।

