काठमाण्डौ । विश्वका सबैभन्दा तीव्र मोटरसाइकलमध्ये पर्ने सिल्वर बर्ड र लाइटनिङ बोल्ट चाँडै नै लिलामीमा राखिने भएका छन्। यी सामान्य मोटरसाइकल होइनन् । यी दुवैले गति सम्बन्धी विश्व कीर्तिमान कायम गरेका ऐतिहासिक मेसिन हुन्। रकेटजस्तो लामो संरचना र आकर्षक डिजाइनका कारण यी मोटरसाइकलले एक समय विश्वभर चर्चा बटुलेका थिए।
मेकम अक्सनले घोषणा गरेअनुसार मार्च २०२६ मा अमेरिकाको एरिजोनामा आयोजना हुने विशेष कार्यक्रममा यी दुवै मोटरसाइकल सार्वजनिक प्रदर्शनीसहित लिलामीमा प्रस्तुत गरिनेछन्।
सिल्वर बर्डले रचेको ऐतिहासिक कीर्तिमान
सन् १९७५ मा सिल्वर बर्ड विश्वको पहिलो मोटरसाइकल बन्यो जसले करिब ४८२ किलोमिटर प्रतिघण्टा ९३०० माइल प्रतिघण्टा० को गति पार गरेको थियो । १५ सेप्टेम्बर १९७५ मा अमेरिकाको बोनेभिल साल्ट फल्याट्समा प्रसिद्ध रेसर डन भेस्कोले यसलाई औसत ३०३ माइल प्रतिघण्टाको गतिमा कुदाउँदै अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।
यो उपलब्धिले मोटरसाइकल इन्जिनियरिङ क्षेत्रमा नयाँ अध्याय सुरु गरेको मानिन्छ।
दुई इन्जिनको अद्भुत संयोजन
उक्त कीर्तिमानका लागि मोटरसाइकलमा यमाहाका टीजेट७५० का दुईवटा इन्जिन जडान गरिएको थियो। दुवै इन्जिनलाई चेन र गियरमार्फत समन्वय गरी एउटै गतिमा सञ्चालन हुने गरी तयार गरिएको थियो। शक्तिमा सानो अन्तर भए पनि दुर्घटनाको जोखिम उच्च हुने भएकाले अत्यन्तै सूक्ष्म इन्जिनियरिङ अपनाइएको थियो।
लाइटनिङ बोल्टको १२ वर्षे अटुट दबदबा
सन् १९७८ मा डोन भेस्कोले सिल्वर बर्डलाई परिमार्जन गर्दै नयाँ नाम लाइटनिङ बोल्ट राखेका थिए। यसमा कावासाकीका दुईवटा १००० सीसी इन्जिन जडान गरिएको थियो र थप शक्तिका लागि टर्बोचार्जर प्रयोग गरियो। यसपछि यसको शक्ति करिब ६०० हर्सपावर पुगेको थियो ।
लाइटनिङ बोल्टले ३१८ माइल प्रतिघण्टाको औसत गति कायम गर्दै नयाँ विश्व कीर्तिमान बनायो, जुन १२ वर्षसम्म कसैले तोड्न सकेन।
कारलाई समेत उछिनेको उपलब्धि
१९७८ मा आयोजित ‘स्पीड वीक्स’ कार्यक्रममा डोन भेस्कोले प्रतिष्ठित ‘फास्टेस्ट फ्लाइङ माइल’ ट्रफी जितेका थिए। यो अवार्ड मोटरसाइकल रेसरका रूपमा जित्ने उनी एकमात्र व्यक्ति मानिन्छन्। उक्त प्रतिस्पर्धामा उनले आफ्नो मोटरसाइकलमार्फत उपस्थित सबै कारहरूलाई समेत गतिमा पछि पारेका थिए।
चार पाङ्ग्रामा समेत कीर्तिमान
डोन भेस्कोको नाम मोटरसाइकल तथा मोटरस्पोर्ट्स हल अफ फेममा समावेश छ। उनले दुई पाङ्ग्रामा मात्र होइन, चार पाङ्ग्रामा पनि कीर्तिमान कायम गरे। सन् २००१ मा उनको कार टर्बिनेटरले ४५८ माइल प्रतिघण्टा (करिब ७३७ किमी÷घण्टा) को गति हासिल गर्दै नयाँ रेकर्ड बनाएको थियो, जुन अझै कायम छ।
लिलामीमा के–के रहनेछ ?
मार्च २०२६ को लिलामी कार्यक्रममा यी ऐतिहासिक मोटरसाइकलसँगै डोन भेस्कोको मौलिक रेसिङ सूट, १९७५ मा प्रयोग गरिएको यामाहा इन्जिन तथा दुर्लभ ऐतिहासिक तस्बिरहरू समेत राखिनेछन्।
यी दुर्लभ संग्रहहरूले मोटरस्पोर्ट इतिहासप्रेमी र सङ्ग्रहकर्ताका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

