काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। वाचापत्रमा शैक्षिक संस्थानहरूमा राजनीतिक गतिविधि नियन्त्रण गर्ने र विद्यार्थीहरूको नेतृत्व तथा रचनात्मक सहभागिता प्रवद्र्धन गर्ने योजना प्रमुख रूपमा समेटिएको छ।
पार्टीका अनुसार, विद्यालय र विश्वविद्यालयहरूलाई ‘दलीय राजनीतिक गतिविधिको अखडा’ हुनबाट मुक्त गरिनेछ। यस अन्तर्गत शिक्षक र प्राध्यापकहरूको राजनीतिक गतिविधि पूर्ण रूपमा निषेध गरिनेछ भने विद्यार्थी संगठनमार्फत हुने तोडफोड, जबरजस्ती बन्द र अराजक गतिविधिहरू रोक्ने काम हुनेछ।
रास्वपाले विद्यार्थीहरूको विचार अभिव्यक्ति र नेतृत्व विकासलाई प्रोत्साहन गर्न गैर–दलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्ने योजना सार्वजनिक गरेको छ। यस प्रणालीले लोकतान्त्रिक अभ्यास संरक्षण गर्दै शैक्षिक वातावरणलाई अनुशासित र मर्यादित बनाउने दाबी गरिएको छ।

