काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे २७ अर्ब रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका छन् । चालु आवको ७ महिनामा १४ निर्जीवन बीमा कम्पनीले २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १३.४५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए ।
सो अवधिसम्म सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीको व्यवसाय उल्लेख्य बढेको छ ।
माघ मसान्तसम्ममा सर्वाधिक शिखर इन्स्योरेन्सले ३ अर्ब ३२ करोड चार लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई अर्ब ९८ करोड ९६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ८३ करोड ९३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ५१ करोड ४९ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले दुई अर्ब ३८ करोड ६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले दुई अर्ब १८ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।
यसका साथै ७ महिनासम्ममा नेको इन्स्योरेन्सले दुई अर्ब १५ करोड १५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ७५ करोड ७३ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले एक अर्ब ६८ करोड ७५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले एक अर्ब ६० करोड १४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले एक अर्ब ३४ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब सात करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।
गत आवको तुलनामा सर्वाधिक व्यवसाय ग्रोथ गर्ने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले ४७.७४ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।


