काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.७२ प्रतिशत अर्थात् १९.२७ अंकले बढेर २ हजार ६७४.२० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ४५९.७३ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टका १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँभन्दा बढी पुगेको छ। गत शुक्रबार भने ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार विष्णु भुषाल भन्छन्, ‘पछिल्लो केही दिनयता चुनाव हुने पक्कापक्की भएपछि बजारले विस्तारै सुधारको गति लिएको छ । लगानीकर्ताहरुमा यतिबेला मनोबल पनि बढेको छ । अब चुनावपछि नयाँ सरकार बन्ने र सुशासनका कुरादेखि प्रभावकारी नीतिहरु बन्ने अपेक्षाले लगानीकर्ताहरु पनि उत्साहित छन् । साथै नयाँ बन्ने सरकारले देशको अर्थतन्त्रमा केही सुधार गरेर पूँजीबजार समेत सुधार हुने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् । सम्भवतः चुनावपछि एक चरणमा सेयरबजार बढ्ने सम्भावना देखिन्छ ।’
साथै अर्का बजार जानकार टेकेन्द्र थपलिया भन्छन्, ‘यतिबेला सेयर लगानीकर्ताहरु चुनावी माहोलमा सक्रिय भएका कारण सेयरबजारतर्फ खासै समय दिन सकिरहेका छैनन्, जसकारण कारोबार रकम समेत खुम्चिएको छ । अब सेयरबजारले चुनावपछि नै गति लिन सक्ने सम्भावना देखिन्छ । चुनावपछि बजारमा लगानीकर्ताहरु सक्रिय रुपमा लाग्ने सम्भावना बढी छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात २.२२ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.७८ प्रतिशत, विकास बैंक ०.७७, फाइनान्स ०।७१, होटल ०.४१, हाईड्रो ०.४७, लगानी ०.५८ प्रतिशत, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४०, म्युचुअल फण्ड ०.०१, निर्जीवन बीमा ०.४१, अन्य १.१९ र व्यापार १.१२ प्रतिशतले बढे ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज राधी विद्युत कम्पनीको सर्वाधिक ३६ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यसैगरी अपि पावरको ३३ करोड २१ लाख, मञ्जुश्री फाइनान्सको २८ करोड २० लाख, आँखुखोला जलविद्युतको २६ करोड ५३ लाख र एसवाई प्यानल नेपालको २२ करोड १० लाख बढीको सेयर कारोबार भएको छ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरूमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ। आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यसैगरी बाराही हाईड्रोपावरको सेयरमूल्य ६.७४ प्रतिशत, गुडविल फाइनान्सको ३.६२ प्रतिशत र जानकी फाइनान्सको सेयरमूल्य ३.५४ प्रतिशतले बढ्यो ।
हिमस्टार उर्जाको सेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।

