काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो चुनावी सार्वजनिक गरेका छन् ।
पौडेलले रुपन्देही–२ बाट उम्मेदवार हुँदा गरेको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् । विवरणमा उनले २८ लाख ७ हजार १०० रुपैयाँ खर्च गरेको देखिएको छ ।
पौडेलले निर्वाचन प्रचार–प्रसार, सवारी साधन प्रयोग, छपाइ तथा विभिन्न कार्यक्रम सञ्चालन लगायतका शीर्षकमा खर्च भएको विवरण पेश गरेका हुन् ।
विवरणअनुसार मतदाता नामावली खरिदमा ९८ हजार रुपैयाँ खर्च गरिएको छ भने सवारी साधन भाडा तथा इन्धनमा ६ लाख ४६ हजार २४२ रुपैयाँ खर्च भएको उल्लेख छ । त्यसैगरी छपाइ तथा विद्युतीय माध्यममार्फत प्रचारप्रसारमा ५ लाख ३८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै चुनावी सामग्री छपाइमा ९ लाख ५० हजार रुपैयाँ खर्च भएको देखिएको छ । गोष्ठी तथा कार्यकर्ता परिचालन लगायतका गतिविधिमा समेत विभिन्न शीर्षकमा खर्च भएको उल्लेख गरिएको छ । प्रतिनिधि परिचालन तथा कार्यालय सञ्चालनमा समेत खर्च भएको विवरणमा देखिएको छ ।
पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । उनी रास्वपाका उम्मेदवार सुलभ खरेलसँग पराजित भएका हुन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गरी निर्वाचित भएका थिए भने पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरेका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।

