काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल ४९ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारणलाई छुट्याइएको मध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि ३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएको हो ।
आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा वैशाख २४ गते र ढिलोमा वैशाख ९ गतेसम्म हुनेछ ।
सोमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नां ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने र ४ लाख ९० हजार कित्ता शेयर बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँड गरिनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काुन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनस्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका, बझङ्ग र डिलासिनी गाउँपालिका, बैतडि शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

