काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले सभा चैत २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।
सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारी भित्र रहि आव २०७९–८० तथा आव २०८०–८१ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै आव २०७९–८० र आव २०८०–८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवहरुको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह लगायतका वित्तीय विवरण र स्वामित्व अंशमा भएको परिवर्तमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, आव २०८०–८१ तथा २०८१–८२ का लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी लेखापरीक्षक नियुक्त गरिएकाले लेखापरीक्षकहरुको उक्त नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने र २ जना स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत २० गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत १९ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

