काठमाण्डौ । आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै, देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।

