शुक्रबार, बैशाख २५,२०८३ 07:54:19
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 07:54:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटी होटलको ‘पाँचतारे’ आवरणभित्रको संकट: ब्याजसमेत तिर्न नसक्ने अवस्था, जनताको पैसाबाट ऋण व्यवस्थापन !

Bizshala
सिटी होटलको ‘पाँचतारे’ आवरणभित्रको संकट: ब्याजसमेत तिर्न नसक्ने अवस्था, जनताको पैसाबाट ऋण व्यवस्थापन !
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयर कारोबार, लकइन अवधि र संस्थापक सेयरको लिलामी प्रक्रियालाई लिएर विवादमा तानिएको City Hotel Limited भित्रको वास्तविक वित्तीय अवस्था झन् भयावह रहेको खुलासा भएको छ ।

कम्पनीका पूर्व सञ्चालक तिलक कोइरालाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई लेखेको आधिकारिक पत्रले सिटी होटलको ‘पाँचतारे’ चमकभित्र लुकेको ऋण, घाटा र वित्तीय अस्थिरताको गम्भीर तस्वीर सार्वजनिक गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पत्रअनुसार होटलमाथि एक समय ३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बैंक ऋण थियो । अवस्था यति कमजोर थियो कि होटलको सञ्चालन आम्दानीले बैंकको ब्याजसमेत थेग्न नसक्ने स्थिति सिर्जना भएको थियो ।

होटलले आफ्नो ब्राण्ड ‘हायात प्यालेस’बाट ‘हायात सेन्ट्रिक’मा परिवर्तन गर्दै बजारमा नयाँ छवि बनाउन खोजे पनि भित्री वित्तीय संरचना भने अत्यन्त कमजोर रहेको देखिन्छ ।

‘व्यावसायिक सफलता होइन, वित्तीय दाउपेच’

सिटी होटलले बाहिरबाट पाँचतारे विस्तार र अन्तर्राष्ट्रिय ब्राण्डिङको कथा बेचिरहँदा कम्पनीको वास्तविक वित्तीय अवस्था भने लगातार दबाबमा देखिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनी १० करोड ९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको देखिन्छ । यस्तो अवस्थामा होटल सञ्चालन हुनु सामान्य व्यापारिक सफलताभन्दा पनि ऋण व्यवस्थापन र वित्तीय पुनर्संरचनाको खेल भएको विश्लेषण गर्न थालिएको छ ।

पूर्व सञ्चालक कोइरालाले पनि पत्रमा पर्यटन गतिविधि पर्याप्त नबढेसम्म होटलले पूर्ण रुपमा आफ्नो खर्च धान्न नसक्ने स्वीकार गरेका छन् ।

CG Motors
Garima Development Bank
IME remit

हकप्रदको वास्तविक उद्देश्य: ‘व्यवसाय विस्तार होइन, बैंक ऋण तिर्न’

सिटी होटलले जारी गरेको ८० प्रतिशत हकप्रद सेयरलाई कम्पनीले बजारमा विस्तार र भविष्यको सम्भावनाको रूपमा प्रस्तुत गरे पनि, सीआईबीलाई लेखिएको पत्रले त्यसको वास्तविक उद्देश्य खोलेको छ ।

कोइरालाका अनुसार हकप्रदबाट उठाइएको अधिकांश रकम बैंक ऋण तिर्न प्रयोग गरिएको थियो । अर्थात्, नयाँ परियोजना विस्तार वा आम्दानी बढाउने योजनाभन्दा पनि कम्पनी तत्कालीन ऋण संकट व्यवस्थापनमा केन्द्रित थियो ।

तर विडम्बना के भने, हकप्रदपछि पनि कम्पनीमाथि अझै करिब साढे २ अर्ब रुपैयाँ ऋण बाँकी रहेको खुलासा भएको छ ।

यसले अर्को गम्भीर प्रश्न उठाएको छ-व्यवस्थापनले सिर्जना गरेको ऋणको भार अन्ततः सर्वसाधारण लगानीकर्तामाथि सारिएको हो ?

विश्लेषकहरूका अनुसार सिटी होटलको हकप्रद मूलतः “जनताको पैसाबाट ऋण व्यवस्थापन” जस्तो देखिएको छ । यसको प्रत्यक्ष असर सर्वसाधारण लगानीकर्तामाथि परेको छ, किनभने कम्पनीले लाभांश दिन सक्ने अवस्था अझै टाढा देखिन्छ।

संस्थापकले नै पैसा हाल्न सकेनन्

पत्रमा अर्को महत्वपूर्ण स्वीकारोक्ति पनि छ । कम्पनीका संस्थापक र केही सञ्चालकहरूले हकप्रदबापतको रकम जम्मा गर्न नसकेपछि उनीहरूको सेयर लिलाम प्रक्रियामा लगिएको उल्लेख गरिएको छ ।

पूर्व सञ्चालक कोइरालाले १९ लाख ८९ हजार ९९९ कित्ता संस्थापक सेयर लिलाम गर्नु कानुनी बाध्यता भएको दाबी गरेका छन् । यदि त्यसो नगरेको भए धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका उल्लंघन हुने र सञ्चालकहरू नै कारबाहीमा पर्ने अवस्था आउने उनको भनाइ छ ।

यसले कम्पनीभित्र तरलता संकट कति गहिरो थियो भन्ने संकेत गर्छ । किनभने संस्थापक समूहकै सदस्यहरूले थप लगानी गर्न नसक्नु कम्पनीप्रतिको आन्तरिक विश्वास कमजोर भएको संकेतको रूपमा पनि हेरिएको छ ।

एउटै ISIN विवाद: ‘लकइन’ सेयर मिसावटको आशंका

सिटी होटल विवादको अर्को संवेदनशील पाटो भनेको संस्थापक र सर्वसाधारण सेयरलाई एउटै ISIN (International Securities Identification Number) दिइएको विषय हो ।

नियामक वृत्त र लगानीकर्ताहरूले एउटै ISIN हुँदा संस्थापकहरूको ‘लकइन’मा रहेको सेयर साधारण सेयरसँग मिसाएर दोस्रो बजारमा कारोबार भएको हुन सक्ने आशंका उठाउँदै आएका छन् ।

यही विषय अहिले अनुसन्धानको केन्द्रमा छ ।

यद्यपि पूर्व सञ्चालक कोइरालाले भने आफू सञ्चालक बन्नुअघि नै CDSC बाट एउटै ISIN जारी भएको दाबी गर्दै त्यसमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन् ।

तर बजारमा उठिरहेको अर्को प्रश्न अझ गम्भीर छ-के प्रभावशाली समूहहरूको पहुँचका कारण नियामकीय प्रणालीमै कमजोरी सिर्जना भयो ?

यदि एउटै ISIN को प्रयोगमार्फत लकइन संरचना नै अस्पष्ट बनाइएको प्रमाणित भयो भने, यो केवल एउटा कम्पनीको विवाद मात्र नभई नेपालको पूँजी बजारको नियामकीय विश्वसनीयतामाथिको प्रश्न बन्न सक्छ ।

‘पाँचतारे चमक’ भित्रको जोखिम

सिटी होटल प्रकरणले नेपाली पूँजी बजारमा एउटा ठूलो प्रश्न उठाएको छ-के चम्किला ब्राण्ड, अन्तर्राष्ट्रिय होटल नाम र आक्रामक मार्केटिङले कम्पनीको वास्तविक वित्तीय जोखिम लुकाइरहेका छन् ?

सीआईबीलाई पुगेको पूर्व सञ्चालकको पत्रले कम्तीमा एउटा कुरा स्पष्ट बनाएको छ:सिटी होटल बाहिरबाट पाँचतारे देखिए पनि भित्रबाट भने गहिरो ऋण, कमजोर नगद प्रवाह र लगानीकर्ताको पैसामाथि टिकेको संकटग्रस्त कम्पनीको रूपमा संघर्ष गरिरहेको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X