काठमाण्डौ । नेप्से परिसूचक २७ सय विन्दुबाट तल खसेपछि यतिबेलाअधिकांश बीमा कम्पनीको सेयरभाउ ह्वात्तै घटेको छ । नेप्सेको फ्लोरसिट हेर्दा अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो विन्दु नजिक पुगेको देखिन्छ ।
घट्दो बजारमा नयाँ कम्पनीबाहेकका अन्य सूचीकृत कम्पनीहरुको सेयरभाउ घटेको छ । तर तुलनात्मक रुपमा हेर्दा बीमा कम्पनीहरुको सेयरभाउ घटेर ५२ हप्ताकै लो प्राइस नजिक पुगेको छ ।
नयाँ सरकारपछि सेयरबजार घट्दा सूचीकृत कम्पनीहरुको मूल्य ह्वात्तै घटेको छ, जसबाट लगानीकर्ताहरुको पोर्टफोलियो दिनहुँ घटिरहेको छ ।
यतिबेला विशेषगरी लगानीकर्ताहरुको मनोबल उकासिन नसक्दा बजारले लय लिन सकिरहेको छैन । फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु ओझेलमा परेका छन् । बैंक वित्तीय संस्था र बीमा कम्पनीको सेयरमा कुनै चहलपहल देखिदैन ।
नयाँ आएका कम्पनीले गर्दा हाइड्रो, उत्पादन तथा प्रशोधन समूह र अन्य समूह केही हदसम्म चलेपनि बजार चलायमान हुन सबै समूहरु उत्तिकै चल्न आवश्यक छ । सेयर विज्ञहरुका अनुसार सेक्टर रोटेसन हुँदै चलेको बजार दिगो हुन्छ ।
सरकारको आव २०८३/८४ को बजेट भाषणपछि दुईतिन दिन चलेको निर्जीवन बीमा समूह पनि फेरी ओझेलमा पर्न थालेको छ । पटक–पटक यो समूहमा विभिन्न कारण दबाब पर्दै आइरहेको छ ।
कहिले प्राकृतिक विपत्ती र कहिले हुलदंगाबाट भएको क्षतिले गर्दा निर्जीवन बीमा कम्पनीहरुलाई ठूलो दाबी भुक्तानीको भारले दोस्रो बजारमा समेत यसको असर देखिएको थियो ।
अहिले बजारमा विशेषगरी निर्जीवन भन्दा जीवन बीमा कम्पनीहरुको सेयरभाउ धेरै घटेको छ । नेपाल बीमा प्राधिकरणको जीवन बीमा कम्पनीको पूँजी ५ अर्ब पुर्याउने रणनीतिले हाल जीवन बीमा कम्पनीको सेयरभाउ खस्किदै गएको छ ।
ठूलो पूँजी तर व्यवसाय र नाफाको अवस्था त्यहिअनुसार ग्रोथ हुन नसक्दा पछिल्लो समय बीमा कम्पनीहरुको लाभांश क्षमता घट्दै गएको छ ।
पछिल्लो समय बीमा कम्पनीहरुको मूल्य धेरै घट्नुमा लगानीकर्ताको अपेक्षा, बजारको मनोविज्ञान र मूल्यांकनसँग सम्बन्धित हुनसक्छ । समग्र बजार घटेको अवस्थामा बिक्री दबाब देखिदा यसबाट बीमा कम्पनीहरु अछुतो रहँदैन । तर बीमा कम्पनीहरुको लाभांश क्षमताप्रति लगानीकर्ताको अपेक्षा घट्नुले कम्पनीहरुको सेयरभाउ घटेको देखिन्छ ।
नियामकीय परिवर्तनको असर
नेपाल बीमा प्राधिकरणमा पूर्णकालिन अध्यक्ष नहुँदा पनि यसको प्रभाव दोस्रो बजारमा परेको छ । बीमा कम्पनीलाई नियमन गर्ने निकायमै अध्यक्ष फेरबदलले कम्पनीहरुमा हुने निगरानी, नियम परिवर्तन, लगानी, पूँजी, दाबी भुक्तानी वा अन्य व्यवस्थाले गर्दा त्यसको प्रभाव कम्पनीको भविष्यको आम्दानीमा पर्ने देखिन्छ ।
हाल अर्को व्यवस्था नभएसम्मको लागि चन्द्रकला पौडेलले प्राधिकरणको अध्यक्ष पद सम्हालेकी छिन् । तर उनी आएदेखि बीमा क्षेत्रमा खासै परिवर्तनको कार्य भएको देखिदैन ।
सरकाले प्राधिकरणको अध्यक्ष छनोटको लागि सिफारिस समिति गठन गरेर आवेदन खुलाएको थियो । जसमा ५० जनाले आवेदन दिएका छन् । स्रोतका अनुसार हाल प्राधिकरण अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको छ ।
समितिले आवेदकहरुमध्येबाट सर्टलिस्ट गरी अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नुपर्नेमा आवेदन नै थन्क्याएर राखेको छ ।
नियामकमै देखिएको यस्तो भद्रगोल अवस्थाले सेयरबजारमा समेत यसले असर पारेको देखिएको छ ।


