मंगलवार, श्रावण १२,२०८३ 12:22:43
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 12:22:43
Bizshala
Global IME Bank Limited

ओली-लेखक पक्राउ प्रकरणमा कांग्रेसभित्रै विभाजन, पूर्णबहादुरको छुट्टै विज्ञप्ति

ओली-लेखक पक्राउ प्रकरणमा कांग्रेसभित्रै विभाजन, पूर्णबहादुरको छुट्टै विज्ञप्ति
New Office

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणमा नेपाली कांग्रेसभित्रै मतभेद सतहमा देखिएको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित समूहका प्रवक्ताले आधिकारिक धारणा सार्वजनिक गरिसकेकै अवस्थामा आफूलाई कार्यबाहक सभापति अझै रहेको दाबीसहित पूर्णबहादुर खड्काले छुट्टै प्रेस विज्ञप्ति जारी गरेका छन्।

खड्काद्वारा जारी विज्ञप्तिमा ओली र लेखकलाई “राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले पक्राउ गरिएको” आरोप लगाउँदै तत्काल रिहाइको माग गरिएको छ। संविधान र प्रचलित कानुनविपरीत कार्य भएको भन्दै उक्त कदमको भर्त्सना पनि गरिएको छ।

विज्ञप्तिमा कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा सरकारले प्रक्रिया पूरा नगरी पूर्वपदाधिकारीलाई पक्राउ गर्नु “कानुनी राज्यको उल्लंघन” भएको उल्लेख गरिएको छ। साथै, एउटै प्रकृतिका घटनामा संलग्न अन्य पक्ष, विशेषगरी सुरक्षाकर्मीको भूमिकाबारे मौन रहँदै चयनात्मक रूपमा कारबाही अघि बढाइएको भन्दै सरकारप्रति गम्भीर आपत्ति जनाइएको छ।

खड्का समूहले आयोगको कार्यादेशअनुसार भदौ २३ र २४ गतेका दुवै दिनका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै, मानवीय क्षति, सरकारी संरचना तथा निजी सम्पत्तिमा भएको नोक्सानीबारे पनि समान रूपमा अनुसन्धान हुनुपर्ने माग गरेको छ।

यो समूह पूर्वसभापति शेरबहादुर देउवा निकट मानिन्छ र विशेष महाधिवेशनको विपक्षमा उभिँदै आएको छ। यसअघि विशेष महाधिवेशनबाट निर्वाचित समूहका प्रवक्ताले पनि सरकारको कदमलाई “सेलेक्टिभ” भन्दै आलोचना गरेका थिए। तर खड्काको विज्ञप्तिले कांग्रेसभित्र एउटै विषयमा फरक-फरक धारणा सार्वजनिक भएको स्पष्ट पारेको छ।

यो समूहले विशेष महाधिवशेनलाई अस्वीकार गर्दै आएको छ । यो समूहका नेताहरु सर्वोच्च अदालतबाट विशेष महाधिवेशनको विपक्षमा फैसला आउने आशामा रहेको छ । खड्का समूहले विशेष महाधिवेशनको साटो पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिंदै आएको थियो । तर, बहुमत महाधिवेशन प्रतिनिधिहरु सहभागी भएर विशेष महाधिवेशन सफल बनाएपछि पार्टीको मूलधारबाट खड्का समूह किनारा लागेको थियो । 

राजनीतिक रूपमा संवेदनशील बनेको ओली-लेखक पक्राउ प्रकरणमा कांग्रेसभित्रै दुई धार देखिनुले अब पार्टीको आधिकारिक लाइन के हुने भन्ने प्रश्न समेत उठेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.