काठमाण्डौ । एमाले कार्यकर्ताबाट आएको धाकधम्कीपछि २३ र २४ भदौका घटनाबारे जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्रालयको निर्देशनमा भक्तपुरको गुण्डुस्थित उनको घर आसपास अतिरिक्त प्रहरी तैनाथ गरिएको हो।
सोही क्षेत्रमा रहेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरिएपछि स्थिति संवेदनशील बनेको छ।
पक्राउविरुद्ध आन्दोलनमा उत्रिएका एमाले नेता-कार्यकर्ताबाट आयोग नेतृत्वप्रति आक्रोश व्यक्त भइरहेका बेला सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा बढाइएको प्रहरीले जनाएको छ।
उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार आयोगको सिफारिस कार्यान्वयन गर्दै ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि कार्कीको सुरक्षामा विशेष सतर्कता अपनाइएको हो। “आयोग नेतृत्वमाथि लक्षित अभिव्यक्ति र दबाब बढेकाले सुरक्षालाई प्राथमिकतामा राखेका छौं,” ती अधिकृतले भने।
प्रहरीकाअनुसार अवस्था सामान्य रहे पनि संवेदनशीलतालाई मध्यनजर गर्दै गुण्डु क्षेत्रमा निगरानी र सुरक्षा उपस्थिति दुवै बढाइएको छ।

