काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘स्विच टु टियागो इभी’ नामक विशेष एक्सचेन्ज क्याम्प सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी खरिद गर्न सक्नेछन्।
उक्त क्याम्पेन २०२६ अप्रिल १७ देखि २० सम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ। अभियानमा जुनसुकै ब्रान्डका दुईपाङ्ग्रे सवारी प्रयोगकर्ताले आफ्नो सवारी साटेर आकर्षक सुविधा सहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
योजना अन्तर्गत ग्राहकहरूले न्यूनतम ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन्। साथै, पुराना सवारीको उच्च मूल्याङ्कन, नगद छुट, निःशुल्क एक्सेसरिज तथा एक वर्षसम्मको सवारी कर छुट जस्ता सुविधाहरू प्रदान गरिने बताइएको छ।
त्यसैगरी, सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध हुने छ भने होम चार्जिङ इन्स्टलेसन पनि निःशुल्क गरिने कम्पनीले जानकारी दिएको छ। अभियान अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन १७ प्रो म्याक्स जित्ने अवसर समेत प्राप्त गर्नेछन्।
आधुनिक प्रविधियुक्त, सुरक्षित तथा वातावरणमैत्री विद्युतीय सवारी प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ। इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा गई उक्त अफरको लाभ लिन सक्नेछन्।

