काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक पीडितहरुले संघर्ष थालेका छन् ।
नेपालगञ्जमा भेला भएका कर्णाली डेभलपमेन्ट बैंकमा बचत राखेर ठगिएका पीडितहरुले सोमबार प्रदर्शन गर्दै बैंकको मुख्य कार्यालयमा गएर आफ्ना कुरा राखेका हुन् ।
उनीहरुले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन सम्हालिरहेका राष्ट्रबैंकका प्रतिनिधिसँग एकघण्टा बढी छलफल गरेका थिए । सो क्रममा पीडितहरुले आफूहरुको बचत रकम विगत डेढ वर्षदेखि फ्रिज भएको र राष्ट्रबैंकले आवश्यक पहल नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनीहरुले आफूहरुको रगतपसिनाबाट आर्जित तथा रेमिटान्सबाट आएर जम्मा भएको रकम तत्काल फिर्ता गर्न, दोषीको ७ पुस्ते सम्पत्ति जफत गरेर बचतकर्ताको रकम तत्काल उपलब्ध गराउन माग गरेका थिए । सो क्रममा उनीहरुले 'बैंक खोलेर जनता ठग्न पाइदैन' लगायतका नारा लेखिएका ब्यानर समेत प्रदर्शन गरेका थिए ।
राष्ट्रबैंकका प्रतिनिधिहरु विष्णुकुमार विश्वकर्मा र जुगलकुमार कुशवाहाले भने आफूहरुलाई झारा टार्ने जवाफ दिएको र आफूहरुको बचत रकम फिर्ताको स्पष्ट रोडम्याप र मिति नभनेको भन्दै पीडित बचतकर्ताहरु आक्रोशित छन् । कर्णाली बैंक पीडित युवा निर्मल बस्नेतका अनुसार राष्ट्रबैंकका प्रतिनिधिहरुले उनीहरुसँगको भेटमा अरु निकायको टाउकोमा दोष थोपरेर आफू उम्किने प्रयास मात्र गरिरहे । 'उहाँहरुले पूरा छलफल अवधिमा आफूहरुले अब केही पनि गर्न नसक्ने भन्दै अरु निकायमाथि दोष थोपर्नुभयो ।' बस्नेतले भने–'बचतकर्तालाई बचत रकमअनुसारको सेयर उपलब्ध गराउने विषय धितोपत्र बोर्डले अड्काएको कुरा भन्नुभयो । बाँकी कतिपय विषय चाहिँ अदालतले अड्कायो, तपाईका पहुँचवाला मान्छे भए त्यता पहल गर्नुस् भन्नुभयो । उहाँहरुले आफूले अब केही गर्न नसक्ने भन्दै बरु आफ्ना क्षेत्रका सांसदहरुमार्फत समेत दवाब सिर्जना गर्न सुझाव दिनुभयो ।'
पीडितहरुले अरु निकायमाथि दोष थोपरेर नियामक राष्ट्रबैंकले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै आपत्ति जनाएका थिए । उनीहरुले केन्द्रीय बैंक सशक्त नियामक भए पनि आफूहरुको बचत फिर्ताको विषयमा प्रभावकारी ढंगले समन्वय र सहयोग नगरेको आरोप समेत लगाएका थिए ।
उनीहरुले बैंक घोटालामा संलग्न १०९ जनामध्ये धेरैले अपचलन गरेको रकमभन्दा न्यून धरौटी लिएर छाड्ने काम भइरहेको भन्दै आपत्ति समेत जनाएका थिए । '७ करोड घोटाला गरेको व्यक्तिलाई ५ लाख धरौटिमा छाडिएको छ । २ करोड घोटाला गरेको व्यक्ति २ लाख धरौटीमा छुटेको छ ।' बस्नेतले भने–'यो त अति भयो । दोषी धमाधम धरौटी आदेशमा छुट्दै खुलेआम घुमिरहेका छन् । हाम्रो फसेको बचत एकरुपैयाँ पनि फिर्ता दिइएको छैन ।'
बस्नेत स्वयम्ले कर्णाली बैंकमा राखेको २२ लाख बचत फसेको छ । पीडितहरुमध्ये १ लाखदेखि ७ करोड रुपैयाँसम्म बचत फसेकाहरु पनि छन् ।
उनले राष्ट्रबैंकले आफूहरुको कुरा नसुनेको खण्डमा थप संघर्षका कार्यक्रम थाल्ने समेत चेतावनी दिएका छन् ।
केही दिनभित्रै कर्णाली बैंकका विभिन्न शाखा केन्द्रीत आन्दोलन समेत सुरु गर्ने पीडितहरुले घोषणा गरेका छन् ।

