काठमाण्डौं । कर्णाली करिडोर अन्तर्गत बाजुराको धुलाचौर सडकखण्ड पुनः अवरुद्ध भएपछि कर्णाली क्षेत्रको जनजीवन फेरि प्रभावित बन्न थालेको छ ।
सीमा विवाद र त्यससँग जोडिएको हिंसात्मक घटनामा आफ्ना माग सुनुवाइ नभएको आरोप लगाउँदै स्थानीयवासी पुनः आन्दोलनमा उत्रिएका हुन् ।
आइतबार दिउँसोदेखि बाजुरा हुँदै हुम्ला जाने सम्पूर्ण यातायात सेवा रोकिएको स्थानीयले बताएका छन् ।
केही दिनअघि आन्दोलनरत पक्षले दिएको २४ घण्टे अल्टिमेटमपछि सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको भएपनि माग सम्बोधनतर्फ राज्य पक्षबाट ठोस पहल नभएको भन्दै फेरि सडक बन्द गरिएको हो ।
आन्दोलनको नेतृत्व गरिरहेको हिमाली युवा क्लबले पाँच बुँदे माग सार्वजनिक गर्दै आन्दोलन अझ कडा बनाउने चेतावनी दिएको छ ।
क्लबले जेठ ५ गते लाम्पाटा क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।
स्थानीयले खार्पुनाथ गाउँपालिका–२ र ३ तथा सर्केगार्ड गाउँपालिका–२ का घटनासँग सम्बन्धित व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।
साथै घटनाका क्रममा लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
आन्दोलनकारीहरूले कुटपिटमा घाइते भएकाहरूको उपचार खर्च दोषी पक्षले व्यहोर्नुपर्ने तथा च्याचौरमा निर्माणाधीन प्रहरी चौकीमा नष्ट गरिएका सामग्रीको क्षतिपूर्ति उठाएर निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने मागसमेत गरेका छन् ।
लाम्पाटा–च्याचौर सीमा विवादका कारण बाजुरा र हुम्लाका स्थानीयबीच केही दिनअघि भएको झडपपछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो ।
उक्त घटनामा चार जना घाइते भएका थिए । त्यसयता स्थानीयले पटक–पटक सडक बन्द गर्दै राज्यको ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन् ।
आन्दोलनरत पक्षले दुर्गम कर्णालीका समस्या र नागरिकको सुरक्षाप्रति राज्य उदासीन बनेको आरोप लगाएका छन् ।
उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार तथा बाजुरा र हुम्लाका प्रशासनिक निकायलाई औपचारिक रूपमा ध्यानाकर्षण गराइसकेको बताएका छन् ।
सडक पुनः बन्द भएपछि हुम्ला र आसपासका दुर्गम क्षेत्रमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा अत्यावश्यक सामानको ढुवानी प्रभावित हुन थालेको छ ।
यात्रु आवागमन अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका छन् भने अवस्था लम्बिए कर्णाली क्षेत्रको आपूर्ति प्रणाली नै संकटमा पर्न सक्ने चिन्ता बढेको छ ।

